काठमाडौं । गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माण गरिने भएको छ । त्यसका लागि आर्थिक संकलन अभियान सुरू भएको छ।
कांग्रेसले पार्टी संरचना, जनप्रतिनिधि र संगठनका सबै तहलाई अनिवार्य कोटा तोकेर सहयोग रकम बुझाउन पत्राचार गरेको छ। आर्थिक संकलन सहज बनाउन कांग्रेसले प्रदेश र जिल्लामा छुट्टाछुट्टै पाँच सदस्यीय समिति गठन गर्न निर्देशन दिएको छ।
कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको संयुक्त हस्ताक्षरमा जारी परिपत्रमा भनिएको छ, ‘चुनौतीपूर्ण परिस्थितिमा कांग्रेस मुख्यालय पुनर्निर्माण हाम्रो साझा दायित्व हो। यसका लागि सबैको आत्मीय सहभागिता र आर्थिक सहयोग अपरिहार्य छ।’
कांग्रेसले ६ वटा मातहतका कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्रियाशील सदस्य, प्रदेश-जिल्ला संरचना र स्थानीय तहका जनप्रतिनिधिसम्म सबैलाई सहभागी गराउँदै आर्थिक संकलनको औपचारिक प्रक्रिया सुरू गरेको छ।
कांग्रेसको पुनर्निर्माण अभियान केवल भवन उठाउने कार्य मात्र होइन, आन्दोलनले पारेको राजनीतिक-संगठनात्मक धक्कालाई व्यवस्थापन गर्ने प्रयास पनि मानिएको छ। कांग्रेसले पार्टी कार्यालय पुनर्निर्माणका लागि २३ करोड लाग्ने अनुमान गरेको छ ।






