काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बसेको छ । केही दिनदेखि जारी बैठक आज पनि बसेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
शनिबार भएको बैठकमा समानुपातिक तर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रिया प्रारम्भ गरेको बताइएको छ ।
एक सातादेखि कांग्रेस बैठक जारी छ । महाधिवेशनको विषयमा निर्णय गर्ने भनिएको बैठक अन्य मुद्दा र एजेन्डामा केन्द्रित भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । जसअनुसार अब दुई साता पनि बाँकी छैन ।
त्यसैले संस्थापन पक्षका नेताहरु चुनावअघि महाधिवेशन गर्नै नदिने रणनीतिमा छन् । उनीहरू युवा नेतृत्वमा आउने डरले महाधिवेशन भाँड्ने अभियानमा लागेका छन् । आजको केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने बुझिएको छ ।
शनिबारको बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाले कारबाहीमा परेकाको निष्काशन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाको बाँकी अवधि माफी मिनाहा गरेको थियो ।
उनीहरुको क्रियाशील सदस्यता निरन्तर रहने गरी नवीकरण गर्ने निर्णय गरिएको थियो । पार्टी परित्याग गरेकालाई पनि घर फर्कन आह्वान गरिएको थियो ।






