एजेन्सी । भुटानको गासा जिल्लास्थित लेमथाङ क्षेत्रमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएपछि भारतको पश्चिम बंगाल र असमका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ। हिमतालबाट बाहिरिएको पानी मोफु नदी हुँदै संकोश नदीतर्फ बग्न थालेपछि नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको हो।
सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै संकोश नदी र यसका सहायक नदी किनारमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा सर्न प्रशासनले अनुरोध गरेको छ। दार्जिलिङका पहाडी क्षेत्र, तराई तथा डुवर्सका बासिन्दालाई समेत सतर्क रहन भनिएको छ।
दार्जिलिङका भारतीय जनता पार्टी (भाजपा) सांसद राजु विष्टले सामाजिक सञ्जाल एक्समार्फत हिमताल विस्फोटको जानकारी दिँदै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ।
उहाँले भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट भएको र तालबाट बाहिरिएको पानी मोफु नदी हुँदै संकोश नदीतर्फ बगिरहेको जानकारी प्राप्त भएको उल्लेख गर्नुभएको छ। संकोश नदी तथा यससँग जोडिएका सहायक नदीको जलाधार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई ज्यान जोगाउन तत्काल सुरक्षित स्थानमा जान उहाँले आग्रह गर्नुभएको छ।
हजारौँ नागरिक सुरक्षित स्थानमा सारिए
राज्य मन्त्री निशिथ प्रमाणिकले भुटानमा हिमताल विस्फोट भएको र त्यसबाट निस्किएको पानी संकोश नदीतर्फ बगिरहेको जानकारी प्राप्त भएको बताउनुभएको छ। उहाँका अनुसार आगामी पाँचदेखि छ घण्टाभित्र पानी समथर भूभागमा पुग्न सक्ने अनुमान गरिएको छ। यसले नदी आसपासका क्षेत्रमा बाढीको जोखिम बढाएको छ।
यसैबीच, अलिपुरद्वारका प्रहरी अधीक्षक अमित कुमार सावले स्थानीय बासिन्दालाई नआत्तिन आग्रह गर्नुभएको छ। उहाँले सम्भावित अवस्थाको सामना गर्न प्रशासनले भुटानका अधिकारी तथा विभिन्न विपद् प्रतिकार्य निकायसँग समन्वय गरिरहेको जानकारी दिनुभएको छ।
प्रहरी अधीक्षक सावका अनुसार करिब चारदेखि पाँच हजार मानिसलाई विद्यालय भवनमा राखेर सुरक्षित स्थानमा सारिएको छ। थप छ हजारभन्दा बढी नागरिकलाई पनि सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिएको उहाँले बताउनुभएको छ।
संकोश नदी प्रणालीमा रेड अलर्ट जारी गरिएको छ। नदीमा बाढीसँगै मरेका माछा, काठका ठूला टुक्रा तथा कङ्क्रिटका अवशेषसमेत बगेर आउन सक्ने चेतावनी प्रशासनले दिएको छ।
गासा त्शाचु तातोपानी कुण्ड बगायो, राजमार्ग अवरुद्ध
भुटानको गासा जिल्लामा बिहीबार राति शिन्ताफू हिमताल फुटेर बाढी आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा मानवीय क्षतिको विवरण सार्वजनिक नभए पनि प्रसिद्ध तातोपानी कुण्ड ‘गासा त्शाचु’ बाढीले बगाएको समाचारमा उल्लेख छ।
बाढीको तीव्र बहावले पुनाखा–गासा राजमार्गको एक भागसमेत बगाएपछि उक्त सडकखण्डमा यातायात बन्द गरिएको छ। पश्चिम बंगाल र असमका सीमावर्ती तथा नदी आसपासका क्षेत्रका बासिन्दालाई पनि सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
के हो हिमताल विस्फोट अर्थात् ग्लोफ?
हिमताललाई रोकिरहेको प्राकृतिक बाँध भत्किँदा वा फुट्दा तालमा जम्मा भएको ठूलो परिमाणको पानी एक्कासि बाहिर निस्कने घटनालाई हिमताल विस्फोट वा ग्लेसियर लेक आउटबर्स्ट फ्लड (ग्लोफ) भनिन्छ।
यस्तो बाढी तीव्र गतिमा तल्लो तटीय क्षेत्रमा पुग्न सक्छ। यसले नदी आसपासका बस्ती, सडक, पुल तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याउनुका साथै मानवीय जोखिमसमेत निम्त्याउन सक्छ।








