कोशी । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टी ले कोशी प्रदेशमा उल्लेखनीय सफलता हासिल गर्दै समानुपातिकतर्फ दोस्रो स्थान प्राप्त गरेको छ।
धरानका पूर्व प्रमुख हर्कराज साङ्पाङ ले चार महिना अघि स्थापना गरेको उक्त पार्टीले पुराना ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले लाई उछिन्दै दोस्रो शक्ति बन्न सफल भएको हो।
कोशी प्रदेशमा सबैभन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टी ले प्राप्त गरेको छ। रास्वपाले ८ लाख ५३ हजार १ सय ८३ मत ल्याएको छ।
दोस्रो स्थानमा रहेको श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत प्राप्त गरेको छ। त्यस्तै नेपाली कांग्रेसले २ लाख ९० हजार ५ सय ६२ मत पाएको छ भने नेकपा एमालेले २ लाख ८८ हजार १ सय ८६ मत प्राप्त गरेको छ।
अघिल्लो संसद्को तेस्रो ठूलो शक्ति मानिएको नेपाली कम्युनिष्ट पार्टी ले भने अपेक्षाकृत कम मत प्राप्त गरेको छ। कोशी प्रदेशमा उक्त दलले समानुपातिकतर्फ १ लाख मतसमेत कटाउन नसकी ९७ हजार ६ सय ७९ मतमा सीमित भएको छ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ले ६२ हजार ८ सय ९९ मत प्राप्त गरेको छ।
यसपटकको निर्वाचनमा तराई क्षेत्रमा रास्वपाको प्रभाव देखिँदा पहाडी क्षेत्रमा श्रम संस्कृति पार्टीको लहर देखिएको विश्लेषण गरिएको छ। यसका कारण पुराना राजनीतिक दलहरूको प्रभाव घटेको देखिएको छ।
समानुपातिक मात्र नभई प्रत्यक्षतर्फ पनि ठूला दलहरू कमजोर देखिएका छन्। कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ४ क्षेत्रमा मात्र जित हासिल गरेको छ। नेकपा एमालेले पनि ४ क्षेत्रमा जित निकालेको छ भने नेपाली कम्युनिष्ट पार्टीले कुनै पनि क्षेत्रमा जित निकाल्न सकेन।
यता श्रम संस्कृति पार्टीले कोशीका ३ क्षेत्रमा जित हासिल गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी ले तराई र पहाडी क्षेत्रका विभिन्न जिल्लामा गरी १७ क्षेत्रमा विजय हासिल गरेको छ।
तराईका तीन जिल्लाका १५ निर्वाचन क्षेत्रमध्ये १४ क्षेत्रमा रास्वपाले जित निकालेको छ भने उदयपुर जिल्लाका दुवै क्षेत्रमा पनि रास्वपा विजयी भएको छ।
यसपटकको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रत्यक्षतर्फ जितविहीन बनेका छन्। साथै जसपा नेपाल लगायत अन्य साना दलहरूले पनि कोशी प्रदेशमा आफ्नो प्रभाव कायम राख्न सकेनन्।






