काठमाडौँ, असोज १८ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समिति र पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ। महाधिवेशनमा नेतृत्वका आकाङ्क्षी व्यवस्थापन गर्न र पार्टीभित्रका विभिन्न समूहलाई समेट्ने गरी विधान संशोधन गर्न लागिएको हो।
हालको विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २३१ सदस्यीय छ भने पदाधिकारीको संख्या १७ रहेको छ। प्रस्तावित संशोधनमा दुवै संख्या बढाउने तयारी गरिएको छ।विधान संशोधनमा एक जना वरिष्ठ उपसभापतिको नयाँ पद सिर्जना गर्ने प्रस्ताव छ। हाल दुई उपसभापति रहने व्यवस्था रहेकामा संख्या बढाएर तीन पुर्याउने र त्यसमध्ये एक पदमा महिला अनिवार्य गर्ने गरी संशोधनको तयारी भइरहेको पार्टी स्रोतले जनाएको छ। यस्तै सहमहामन्त्री पदमा समेत नयाँ व्यवस्था प्रस्ताव गरिएको छ। हाल आठ समावेशी क्लस्टरबाट सहमहामन्त्री चयन हुने व्यवस्था रहेकामा अब खुलातर्फ पनि सहमहामन्त्री पद थप्ने विषयमा छलफल भइरहेको छ।
हाल जनजाति, मधेसी, थारू, मुस्लिम, महिला, खस–आर्य, पिछडिएको क्षेत्र र दलित गरी आठ क्लस्टरबाट सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। प्रस्तावित संशोधनमा यी क्लस्टरसँगै खुलातर्फबाट पनि सहमहामन्त्री निर्वाचित गर्ने विकल्प अघि सारिएको हो। महामन्त्रीको संख्या भने दुई नै कायम रहनेछ।
केन्द्रीय सदस्यको संख्या पनि बढाउने तयारी छ। हाल खुलातर्फ ३५ केन्द्रीय सदस्य रहने व्यवस्था रहेकामा त्यसलाई थप गर्ने विषयमा छलफल भइरहेको छ। कति संख्या थप्ने भन्ने टुंगो भने लागिसकेको छैन।
महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा रहेको विधान संशोधन मस्यौदा समितिले यसअघि २३१ सदस्यीय केन्द्रीय समितिमध्ये ६१ जना सभापतिले मनोनयन गर्ने प्रस्ताव गरेको थियो। अब वरिष्ठ उपसभापति, सहमहामन्त्री र थपिने केन्द्रीय सदस्यसहित समग्र संरचना पुनः समायोजन गरिने भएको छ।
यद्यपि ३५ वर्षमुनिका २१ जना, पेशागत तथा बुद्धिजीवी क्षेत्रबाट सात जना र जनसम्पर्क समितिबाट छ जना चयन हुने व्यवस्थामा भने परिवर्तन नहुने बताइएको छ।
विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्ताव केन्द्रीय समितिमा पेस हुनेछ। केन्द्रीय समितिबाट अनुमोदन भएपछि त्यसलाई महाधिवेशनको हलमा पेस गरी पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।महामन्त्री पौडेल नेतृत्वको समितिमा जीवन परियार, इश्वरी न्यौपाने र राजीव ढुङ्गाना सदस्य तथा प्रताप पौडेल सदस्य–सचिव छन्।







