काठमाडौैं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । उनीहरूले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग करिब दुई घन्टा कुराकानी गरेका हुन्।

प्रधानमन्त्री कार्कीलाई भेट्न नेताहरू देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाई, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा र सन्दीप निरौला सहभागी थिए ।

ADVERTISEMENT

आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउने सन्दर्भमा प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने गरेकी छन् । कांग्रेस नेता घिमिरेले त्यही सिलसिलामा प्रधानमन्त्रीलाई भेटेको जानकारी दिए ।

‘फागुन २१ को प्रतिनिधिसभा चुनाव गराउन प्रधानमन्त्रीज्यू प्रतिबद्ध हुनुहुन्छ, कांग्रेससहित सबै राजनीतिक दल चुनावमा लाग्नुपर्छ, चुनावका लागि वातावरण बनाउनुपर्छ भन्ने कुरा गर्नुभयो,’ उनले भने, ‘हामीले पनि मुलुकको राजनीतिक परिस्थिति, चुनावको तयारी, सुरक्षा अवस्थालगायतको विषयमा कुरा गरेका छौं ।’

ADVERTISEMENT

विशेष महाधिवेशन पक्षधरले सोमबार अनामनगरमा युवा भेला गरेको थियो । अब कांग्रेसमा नियमित महाधिवेशनको च्याप्टर क्लोज भएको भन्दै भेलाले विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको छ । युवाहरूले बिहीबार कांग्रेस कार्यालय घेराउ गर्ने बताएका छन् ।