काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालको सार्वभौमिकताबारे चीनले सम्मान गर्नुपर्ने बताएका छन् ।

शनिबार चीनको तियानजिनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उनले कालापानी भूभाग नेपालको सार्वभौम अंश भएकाले चीनबाट सम्मान हुने प्रतिबद्धता माग गरेका हुन् ।

आइतबारदेखि सुरु हुने सांघाई सहयोग संगठन (एससिओ) को २५औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली शनिबार दिउँसो स्थानीय समयअनुसार ३ बजे हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत तियानजिन पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै चिनियाँ राष्ट्रपतिले नेपाली प्रतिनिधिमण्डलसँग करिब २० मिनेट द्विपक्षीय वार्ता गरेका तिए । सो क्रममा ओलीले आफ्नो भूमि कालापानीवारे उठेका प्रश्नहरुको प्रसंग कोट्याउँदै नेपाली सार्वभौमिकताको उत्तरी छिमेकी चीनबाट सम्मान हुने प्रतिबद्धता मागेको बुझिएको छ ।

तर नेपालमा भने प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिसँग लिपुलेक पास भएर भारत र चीनबीच भएको द्विपक्षीय व्यापार गर्ने सहमतिप्रति आपत्ति जनाएको समाचार आएका छन् ।

परराष्ट्र सचिव अमृतकुमार राईको भनाइ भन्दै एकांगी ढंगले समाचार आएका छन् । यसबारे चिनियाँ मिडियाले केही उल्लेख गरेको छैन ।

तर शनिबार राति बेइजिङस्थित नेपाली दूतावासले चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले लिपुलेक नेपालकाे भूमि रहेकाे र चीन र भारतले गरेकाे सहमतिप्रति आपत्ति जनाएकाे उल्लेख छ । यसबारे चीनले माैनता साँधेकाे छ । चिनियाँ राष्ट्रपति सीले कुनै जवाफ दिएनन् ।