काठमाडौं।  ‘भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२’ ले जेन–जी आन्दोलनका क्रममा भएको राज्यपक्षको दमन र त्यसको भोलिपल्ट भएका विध्वंसका घटनाबारे छुट्टाछुट्टै अध्ययन गरी कारबाही सिफारिस गरेको छ।

आयोगले आफ्नो प्रतिवेदन आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउने कार्यक्रम रहेको छ।

आयोगका एक सदस्यका अनुसार भदौ २३ गते भएको जेन–जी आन्दोलनमा तत्कालीन सरकारका तर्फबाट प्रयोग गरिएको बल किन र कसरी प्रयोग गरियो भन्ने विषयमा विस्तृत छानबिन गरिएको छ। सोही आधारमा उक्त घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाहीका लागि सिफारिस गरिएको छ।

त्यसैगरी भदौ २४ गते संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत सरकारी तथा निजी संरचनामा भएको आगजनी, लुटपाट र तोडफोडका घटनाको छुट्टै अध्ययन गरी त्यसमा संलग्नहरूलाई कारबाहीका लागि सिफारिस गरिएको आयोगका ती सदस्यले जानकारी दिए।

“भदौ २३ गतेको आन्दोलनमा प्रहरी तथा सरकारबाट दमन किन भयो भन्ने कोणबाट अध्ययन भएको छ। २४ गते भएको विध्वंसको छुट्टै अध्ययन गरिएको छ। त्यो दिन कसले कसरी विध्वंस गर्‍यो भन्ने विषयमा पनि अनुसन्धान गरिएको छ,” ती सदस्यले भने।

दुवै दिनका घटनासम्बन्धी आयोगले छुट्टाछुट्टै सिफारिस गरेको पनि उनले बताएका छन्।

भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले आन्दोलन तथा प्रदर्शनका क्रममा भएको दमन, आगजनी र तोडफोडबारे अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगका सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्।