काठमाडौं । अर्थ मन्त्रालयले विश्व वातावरण सुविधाबाट परियोजना प्रस्ताव मागेको छ । आगामी नोभेम्बर ३० भित्र आवेदन दिन सकिनेछ ।

अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाले विश्व वातावरण सुविधाअन्तर्गतको ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क फन्डबाट नेपाललाई बाँडफाँट भएको रकम प्रयोग गर्नग परियोजना प्रस्ताव माग गरेको हो ।

ADVERTISEMENT

‘विश्व वातावरण सुविधाको जीबीएफएफबाट नेपाललाई बाँडफाँट भएको रकममध्ये बाँकी रहेको अमेरिकी डलर १०, ८९,५५५ रकम उपयोग गर्ने गरी परियोजना प्रस्ताव पेश गर्नका लागि सबै निकायलाई खुला गरिएको छ,’ मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा भनिएको छ ।
मन्त्रालयका अनुसार इच्छुक सरकारी निकाय, संस्था तथा संगठनहरूले विश्व वातावरण सुविधाले तोकेको विषयवस्तुको अधिनमा रही परियोजना प्रस्ताव तयार गर्नुपर्नेछ ।

सूचनामा भनिएको छ, ‘विश्व वातावरण सुविधाको ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्क फन्डअन्तर्गतका प्राथमिकता क्षेत्रका आधारमा परियोजना तयार पार्न सकिनेछ । प्रस्ताव पेस गर्दा विश्व वातावरण सुविधाको वेबसाइटमा उपलब्ध मापदण्ड र दिशानिर्देशअनुसार जानकारी लिन सकिन्छ ।’

ADVERTISEMENT

‘यो अवसर जैविक विविधता संरक्षण र वातावरणीय दिगोपनाको क्षेत्रमा काम गर्ने संस्थाहरूका लागि निकै महत्वपूर्ण हुन सक्छ । यसले नेपालका वातावरणीय परियोजनामा अन्तर्राष्ट्रिय सहयोग विस्तार गर्न सहयोग पु¥याउनेछ,’ अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले भने ।