काठमाडौं । अर्थ मन्त्रालयले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई हाजिर नगर्न निर्देशन दिएको छ ।
ओझालाई पुनर्बहाली गर्ने निर्णय नभएको भन्दै मन्त्रालयले हाजिर नहुन तथा अध्यक्षको रुपमा कार्य नगर्न निर्देशन दिएको हो ।
ओझाले सर्वोच्चको आदेश लिएर मंगलबार पुनर्बहाली गरेका थिए । सर्वोच्चले ओझालाई बर्खास्त गर्ने अघिल्लो सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
सोही आधारमा ओझा मंगलबार प्राधिकरणमा अध्यक्षको काम गर्न गएका थिए । तर, बिहीबार अर्थमन्त्रालयले ओझाले पुनस् सुरु गरेको अध्यक्षको जिम्मेवारीमा रही काम नगर्न निर्देशन दिएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार बिहीबार ओझालाई बोधार्थ पत्राचार गर्दै अध्यक्षको काम नगर्न मन्त्रालयबाट पत्र गएको हो ।
ओझालाई सरकारले गत भदौ २ गते पदबाट बर्खास्त गरेको थियो । सरकारले पदबाट हटाएपछि ओझा भदौ २२ गते सरकारको निर्णय विरुद्ध सर्वोच्च गएका थिए ।
ओझा रिटमा २३ भदौमा सर्वोच्चले सुनुवाइ गर्दै सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । सोही आदेशका आधारमा ओझा पुनर्बहाली भएको भन्दै प्रधिकरणको अध्यक्षको रुपमा हाजिर हुन गएका थिए








