न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको लोकप्रियता परीक्षणका रूपमा हेरिएको अमेरिकाको मध्यावधि निर्वाचन आज (मङ्गलबार) हुँदै छ। निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि मतदान हुँदै छ।
संसद्का दुवै सदनमा नियन्त्रण कायम राख्न रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीच प्रतिस्पर्धा हुँदै छ। विशेषगरी सिनेटको नियन्त्रणका लागि हुने प्रतिस्पर्धालाई महत्त्वपूर्ण मानिएको छ। यस निर्वाचनले ट्रम्प प्रशासनप्रति मतदाताको धारणा र आगामी दुई वर्षको अमेरिकी राजनीतिक दिशा निर्धारण गर्नेछ।
निर्वाचनमा बढ्दो महँगी, जीवनयापनको लागत, आर्थिक नीति तथा ट्रम्प प्रशासनका निर्णय प्रमुख चुनावी मुद्दा बनेका छन्। डेमोक्रेटिक पार्टीले आर्थिक असन्तुष्टिलाई चुनावी अभियानमा उठाउँदै आएको छ भने रिपब्लिकन पार्टी संसद्मा आफ्नो बहुमत जोगाउने प्रयासमा छ।
अमेरिकी सिनेटमा हाल रिपब्लिकन पार्टीका ५३ र डेमोक्रेटिक पक्षका ४७ सदस्य छन्। सिनेटमा बहुमत कायम गर्न डेमोक्रेटिक पार्टीलाई कम्तीमा ५१ सिट आवश्यक पर्नेछ। रिपब्लिकनले भने उपराष्ट्रपतिको निर्णायक मतको व्यवस्था रहेकाले ५० सिटबाट पनि नियन्त्रण कायम राख्न सक्छन्।
द न्युयोर्क टाइम्स र सिएना कलेजले सार्वजनिक गरेको अन्तिम मत सर्वेक्षणअनुसार सिनेटको नियन्त्रण निर्धारण गर्न सक्ने सात प्रतिस्पर्धात्मक राज्यमा डेमोक्रेटिक उम्मेदवार अगाडि देखिएका छन्। ती राज्यमा मिसिगन, कान्सास, टेक्सास, मेन, ओहायो, अलास्का र आयोवा छन्।
सर्वेक्षणअनुसार टेक्सासमा डेमोक्रेटिक उम्मेदवार जेम्स तालारिकोले रिपब्लिकन केन प्याक्सटनलाई ५०–४३ प्रतिशतले पछाडि पारेका छन्। कान्सासमा एडम ह्यामिल्टनले रोजर मार्सललाई ४९–४४ प्रतिशत र मेनमा ट्रोय ज्याक्सनले सुसान कोलिन्सलाई ५१–४५ प्रतिशतले पछि पारेका छन्।
त्यस्तै, मिसिगनमा अब्दुल एल–सायेदले रिपब्लिकन उम्मेदवार माइक रोजर्सलाई ५३–४२ प्रतिशतले पछाडि पारेका छन्। ओहायोमा शेरोड ब्राउनले जोन हस्टेडलाई ४९–४४ प्रतिशतले पछि पारेका छन्। अलास्कामा मेरी पेल्टोला ४८–४६ प्रतिशत र आयोवामा जोस टुरेक ४८–४७ प्रतिशतले अगाडि देखिएका छन्।
यद्यपि, मत सर्वेक्षणले देखाएको अग्रता नै निर्वाचनको अन्तिम परिणाम भने होइन। वास्तविक नतिजा मतदाताको सहभागिता र मतदानपछि हुने मतगणनाले निर्धारण गर्नेछ।
अमेरिकामा राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा अर्थात् दुई वर्षपछि मध्यावधि निर्वाचन हुने गर्छ। यसमा राष्ट्रपतिका लागि मतदान हुँदैन। तर प्रतिनिधिसभा, सिनेट तथा राज्यस्तरका विभिन्न महत्त्वपूर्ण पदका लागि निर्वाचन हुन्छ।









