काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको सिटिजन्स बैंक इन्टरनेसनलको नुवाकोटस्थित देवीघाट शाखा बट्टारमा स्थानान्तरण गरिएको छ।
बैंकले विदुर नगरपालिका–२, बट्टारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। मंगलबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको उद्घाटन गरे।
यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट करिब सात किलोमिटर दूरीमा बट्टार शाखा स्थापना गरिएको बैंकले जनाएको छ। उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले बाढीबाट देवीघाट शाखा पूर्ण रूपमा क्षति भए पनि ग्राहकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याइएको बताए।
उनले कठिन परिस्थितिमा पनि शाखा सञ्चालनमा ल्याउन भूमिका खेलेका कर्मचारीको प्रशंसा गरे। बाढीका बेला शाखामा कार्यरत कर्मचारी भने सुरक्षित रहन सफल भएका थिए।
नयाँ शाखाबाट व्यक्तिगत तथा व्यावसायिक ग्राहकका वित्तीय आवश्यकता पूरा गर्ने गरी रिटेल बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ। साथै, साना तथा कर्पोरेट व्यवसायीको वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्ने जनाएको छ। शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगको परीक्षण, शरीरको वस्तुमान सूचकाङ्क (बीएमआई) तथा मधुमेह परीक्षणलगायत सेवा उपलब्ध गराइनेछ।
सिटिजन्स बैंकका अनुसार बागमती प्रदेशमा मात्रै उसका ५६ शाखा सञ्चालनमा छन्। बैंकले देशका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ८२ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।
बैंकले यसअघि फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नामक भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको थियो। बैंकले सन् २०२४ र २०२५ मा ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।









