काठमाडौं। जेनजी आन्दोलनपश्चात आज बिहीबार खुलेको सेयर बजारमा ठूलो गिरावट देखिएको छ।
बजार प्रि -ओपन सत्रमै ३४ अंकले घटेको थियो। नियमित कारोबार सुरु भएपछि पहिलो मिनेटमै नेप्से ६२ अंकले घट्यो। त्यसपछि फेरि बजार १०७ अंकले तल झरेपश्चात कारोबार २० मिनेट स्थगन गरिएको थियो । पहिलो सर्किट पछि खुलेको बजार १३३ अंकले घटेपछि फेरी दोस्रो सर्किट लगेर ४० मिनेटको लागि स्थगन भएको छ।



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बजारमा निरन्तर गिरावट देखिएपछि अस्थायी रूपमा कारोबार रोकिएको हो।
नेप्सेका अनुसार आज खुलेको बजारमा कुल १५ करोड ६६ लाख १६ हजार ९३७ रुपैयाँ ७० पैसा बराबरको सेयर किनबेच भयो। यस अवधिमा ३ लाख ३४ हजार २७५ कित्ता सेयर १,८५७ वटा कारोबारमार्फत २०० कम्पनीका स्क्रिप्ट कारोबार भएका छन्।
राजनीतिक अस्थिरता र आन्दोलनपछिको अनिश्चितताका कारण लगानीकर्तामा नकारात्मक मनोविज्ञान हावी भएको देखिन्छ तर सरकार गठन भैसकेको र निर्वाचन घोषणा भएको हुँदा बजार छिटै सम्हालिने आंकलन गरिएको छ।






