काठमाडौँ । विचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको जीवनरक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन परेको छ ।

शुक्रबार सापकोटाका तर्फबाट उनकी पत्नी कविता पाण्डेले आयोगमा निवेदन दिँदै आफ्नो र परिवारको जिउज्यानको सुरक्षा माग गरेकी हुन् ।

ADVERTISEMENT

निवेदनमा सापकोटाले आफूलाई पक्राउ गरेपछि गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको, धम्की दिइएको र दबाबमा बयान लिन खोजिएको आरोप लगाएका छन् । साथै, आफ्नो गोपनीयताको हकसमेत उल्लंघन गरिएको भन्दै घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

ADVERTISEMENT

सापकोटाका अनुसार उनलाई गत असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचस्थलमा पुगेका बेला प्रहरीले नियन्त्रणमा लिई साथमा रहेका दुईवटा मोबाइल फोन खोसेको र गाडीमा राखेर आँखामा पट्टी बाँधी अज्ञातस्थलमा लगेको उनको दाबी छ ।

उनले त्यसपछिका दुई दिन अज्ञातस्थलमा राखेर सोधपुछ गरिएको निवेदनमा उल्लेख गरेका छन् । सोधपुछका क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर तथा सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध प्रमाण र बयान दिन दबाब दिइएको उनको आरोप छ ।

सापकोटाले आफूले ती व्यक्तिहरूविरुद्ध बयान दिन अस्वीकार गरेपछि लामो समय जेल बस्नुपर्ने गरी झुटा मुद्दा लगाउने र परिवारकै जिउज्यानमा खतरा पुर्‍याउने धम्की दिइएको दाबी गरेका छन् ।

उनका अनुसार पटकपटक परिवारसँग सम्पर्क गराइदिन आग्रह गर्दा पनि अनुमति दिइएन । बयान दिन नमानेपछि आफूलाई मानसिक यातना दिइएको र आफूलाई थाहा नभएको विषयमा लेखिएको कागज पढ्न लगाई त्यसमा हस्ताक्षर गर्न दबाब दिइएको उनले बताएका छन् ।

सापकोटाले आफूलाई एकातिरको आँखाको पट्टी माथि सारेर सबैले सुन्ने गरी तयार पारिएको कागज पढ्न लगाइएको र त्यही सामग्री रेकर्ड गरिएको दाबी गरेका छन् । पछि उक्त अडिओ सार्वजनिक गरिएको उनको भनाइ छ ।

उनका अनुसार प्रहरीले अडिओ परीक्षणका नाममा पुनः सोधपुछ गरी आवाज आफ्नै जस्तो रहेको तर त्यसमा भनिएका कुरा सम्झना नभएको भनी बयान लिएको थियो ।

हाल त्यही अडिओका आधारमा बयान दिन मानसिक दबाब र यातना दिइँदै आएको पनि उनले निवेदनमा उल्लेख गरेका छन् । आफू र परिवारको जिउज्यान तथा स्वतन्त्रतामाथि खतरा उत्पन्न हुने गरी धम्की दिइएकाले लामो समयदेखि तनावमा रहेको उनको दाबी छ ।

सापकोटाले घटनाबारे अध्ययन तथा अनुसन्धान गर्न आयोगसँग आग्रह गरेका छन् । साथै, आफूलाई फसाउने उद्देश्यले झुटा प्रमाण सिर्जना गर्ने तथा अनुसन्धानसम्बन्धी सामग्री बाहिर चुहाउने कार्यमा संलग्न अनुसन्धान अधिकारी र अन्य व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाहीका लागि सिफारिस गर्न माग गरेका छन् ।