गण्डकी । गुजुमुज्ज गाउँ । आँखैअघि हिमालचुली । बिहानीको झुल्के घामसँगै चराचुरुंगीको चिरबिर । वनपाखा–देउराली, उकाली–ओरालीमा गुज्रिन्छ घान्द्रुकको चक्रीय पदमार्ग ।
पर्यटकीय गाउँ घान्दु्रकलाई एक फन्को मार्दा पदयात्रीहरु बिछट्टै अनुभव गर्छन् । करिब दुई घण्टाको हिँडाइमा प्रकृतिमय घान्द्रुकको आनन्द बटुल्छन् ।
देशविदेशका पर्यटकको मनप्रिय गन्तव्य घान्द्रुकमा नयाँ आकर्षण थप्न र आगन्तुकको बसाइ लम्बाउन चक्रीय पदमार्ग बनाइएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित घान्द्रुक गाउँको बसपार्कदेखि पञ्चे, कोटगाउँ, बलाचे उद्यान, देउराली, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, ब्रेज मेश्रम बराह मन्दिर, नेगो, चिया बगान, डाँडागाउँ हुँदै पुनः बसपार्क आएर पदमार्ग टुंगिन्छ ।
चक्रीय पदमार्गको ६० प्रतिशत काम सकिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए । समितिको पहलमा तीन वर्षअघि चक्रीय पदमार्ग निर्माण थालिएको थियो । ‘यस वर्ष नेपाल पर्यटन बोर्डको २० लाख बजेटबाट थप काम भइरहेको छ’, अध्यक्ष गुरुङले भने, ‘चक्रीय पदमार्ग निर्माणमा तीनवटै तहका सरकारको सहयोग छ, स्थानीय दाताहरु पनि जोडिनुभएको छ ।’
घान्द्रुकको नयाँ गन्तव्यका रुपमा चक्रीय पदमार्गलाई स्थापित गर्ने र पर्यटकको बसाइ लम्बाउने उद्देश्यले पूर्वाधारका काम भइरहेको उनको भनाइ छ । घान्द्रुक गाउँको सिरानमाथि वनको बाटो हुँदै पदमार्ग अगाडि बढ्छ । पदमार्गका ठाउँठाउँमा उद्यान, विश्रामस्थल, चौतारी आदि निर्माण भइरहेको समितिले जनाएको छ ।
घान्द्रुकका पर्यटन व्यवसायी अमृत लामा गुरुङले घान्द्रुक आउने पर्यटकलाई छोटो दुरीको पदयात्रा (हाइकिङ)मा निस्कन चक्रीय पदमार्ग उत्तम रहेको बताए । गुरुङ समुदायको आस्थाको धरोहरका रुपमा रहेको मेस्रम बराहको मन्दिर पनि यही मार्गमा पर्ने भएकाले धर्मप्रेमीहरु पनि पदयात्रामा आकर्षित भइरहेको उनको भनाइ छ ।
पदमार्ग निर्माणमा हालसम्म झण्डै ५३ लाख खर्च भइसकेको समितिले जनाएको छ । स्थानीय निर्माण सामग्री प्रयोग गरेर मौलिक शैलीमा पदमार्ग बनाइएको छ । पदमार्ग क्षेत्रमा बलाचे र बुद्ध गरी दुई उद्यान निर्माण पनि अगाडि बढाइएको छ ।
घान्द्रुकको पर्यटनमा चक्रीय पदमार्गले नयाँ आकर्षण थपेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायले बताउनुभयो ।
घान्द्रुकमा पदमार्गसहित पर्यटकीय पूर्वाधार निर्माण, सामुदायिक सशक्तीकरणलगायत क्षेत्रमा एक्यापले सघाउँदै आएको छ । कार्यालय प्रमुख उपाध्यायले घान्द्रुक हुँदै अन्नपूर्ण क्षेत्रको घुमफिर गर्न आउनेमध्ये धेरै सङ्ख्यामा भारतीय पर्यटक रहेको बताए । अहिलेको याममा एकैदिनमा आठ सय ५६ जनासम्म विदेशी पर्यटक घान्द्रुकमा भित्रिएको उनको भनाइ छ ।
चल्तीका पदमार्ग, आकर्षक गन्तव्यस्थल र व्यवस्थित पर्यटकीय पूर्वाधारका कारण यस क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । तीसको दशकदेखि सुरु भएको घान्द्रुकको पर्यटनमा पछिल्लो समय गाउँको मौलिकता जोगाउने चुनौती थपिएको छ ।
पर्यटकीय चहलपहल बढे पनि घान्द्रुकको असली पहिचान गुम्ने हो कि भन्ने पिरलो स्थानीय र पर्यटनकर्मीमाझ छ । प्रकृति र संस्कृतिको संगम मानिने घान्द्रुक पहिलेको जस्तो छैन । जीवनशैली फेरिँदो छ । नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरुप खल्बलिएको छ । सडकले पदमार्ग भत्केका छन् । गुरुङ समुदायको कला, संस्कृति र रहनसहन पनि आधुनिकताको चेपुवामा परेको छ ।
पर्यटकको आउजाउ बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन् । आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ । बढ्दो व्यवसायीकरणले घान्द्रुकको मौलिकपन गुम्दै गएको छ ।
पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा रिसोर्टसहित ८० वटा होटल छन् । ३५ वटा घरबास छन् । पर्यटक स्तरीयदेखि सामान्यसम्म गरी होटलमा आठ सय कोठा छन् । पर्यटन व्यवसायमा अर्बौँको लगानी छ ।
सयौँले रोजगारी पाएका छन् । पर्यटकीय याममा एकैदिनमा दुई तीन हजारसम्म पर्यटक त्यहाँ पुग्छन् । अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमासमेत लिइन्छ । पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँच÷छ घण्टाको पदयात्रामा घान्द्रुक पुग्न सकिन्छ । मोटरमा पोखराबाट घान्द्रुक पुग्न दुई घण्टा लाग्छ ।






