काठमाडौं । प्रभु बैंक लिमिटेडले विदेशमा काम गर्ने तथा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ ।
बैंकका अनुसार यो योजनामार्फत प्रवासी नेपालीलाई घर, अपार्टमेन्ट वा जग्गा खरिद, घर निर्माण तथा मर्मतका लागि सहज, प्रतिस्पर्धी र सुविधाजनक कर्जा उपलब्ध गराइनेछ ।
प्रभु बैंकले विप्रेषणलाई बैंकिङ प्रणालीमार्फत प्रभावकारी रूपमा परिचालन गर्दै प्रवासी नेपालीको दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्ने उद्देश्यले योजना ल्याएको जनाएको छ । बैंकका अनुसार यस योजनाले प्रवासी नेपालीलाई आवासीय सम्पत्तिमा लगानी गर्न आवश्यक वित्तीय पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
योजनाअन्तर्गत घर कर्जाको अधिकतम सीमा ३ करोड रुपैयाँ तोकिएको छ । कर्जाको अवधि अधिकतम २५ वर्ष रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत मात्र लाग्ने बैंकले जनाएको छ ।
ब्याजदर औसत आधार दरमा ०.५० प्रतिशत मात्र थप गरेर निर्धारण गरिएको बैंकले जनाएको छ । यो सुविधा देशभर रहेका प्रभु बैंकका ३०० शाखामार्फत उपलब्ध हुनेछ ।
घर कर्जासँगै ग्राहकले बढीमा दुई जना सन्तानका लागि नेपाल वा विदेशमा अध्ययन गर्न शिक्षा कर्जा पनि लिन सक्नेछन् । शिक्षा कर्जामा औसत आधार दरमा १.५ प्रतिशत मात्र थप ब्याजदर लाग्नेछ भने कर्जा प्रशासनिक शुल्कमा ५० प्रतिशत छुट दिइने बैंकले जनाएको छ ।
यस्तै, योजनामा सहभागी ग्राहकलाई पहिलो वर्ष निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा पनि उपलब्ध गराइनेछ ।
प्रभु बैंकले नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै प्रवासी नेपालीबाट आउने रकमलाई औपचारिक बैंकिङ प्रणालीमार्फत परिचालन गर्न यो योजना सहयोगी हुने विश्वास व्यक्त गरेको छ ।
बैंकका अनुसार योजनाले निक्षेप अभिवृद्धि, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह र प्रवासी नेपालीसँग दीर्घकालीन बैंकिङ सम्बन्ध विस्तारमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।






