हेटौँडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन गरिने बताएका छन् ।
शुक्रबार हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रमा रहेको उद्योगको अवलोकन गर्दै मन्त्री पुनले मेसिनको अवस्था र उद्योग पुनः सञ्चालनका चुनौतीबारे जानकारी लिएका हुन् ।
अवलोकनका क्रममा उनले उद्योगमा प्रयोग भएका मेसिन निर्माण गर्ने चिनियाँ कम्पनी नै बन्द भइसकेकाले आवश्यक पार्टपुर्जा उपलब्ध गराउन कठिनाइ रहेको बताए । यद्यपि, पुराना मेसिनलाई आधुनिक प्रविधिको प्रयोगबाट सुधार गर्न सके उत्पादन सम्भव हुन सक्ने उनको भनाइ छ ।
सरकारी स्वामित्वमा रहेका पुराना उद्योगलाई अनुसन्धान, नवप्रवर्तन र प्रविधिको प्रयोगमार्फत पुनः सञ्चालन गर्न सकिने सम्भावना खोज्न आफू उद्योगको अवस्था बुझ्न आएको उनले बताए । यसका लागि छुट्टै अनुसन्धान तथा नवप्रवर्तन इकाइ स्थापना गर्नुपर्ने उनको धारणा थियो ।
मन्त्री पुनले वीरगञ्जस्थित कृषि औजार कारखानामा करिब चार बिघा क्षेत्रफलमा अनुसन्धान केन्द्र स्थापना गर्ने प्रस्तावसमेत अघि सारेका छन् । उक्त केन्द्र स्थापनाका लागि रु. ७० देखि ८० करोडसम्म लगानी आवश्यक पर्ने उनको अनुमान छ । अनुसन्धान तथा प्रविधि विकासका काममा नेपाली सेनासँग सहकार्य गर्न सकिने पनि उनले बताए ।
अवलोकनका क्रममा सैनिक सामग्री उत्पादन निर्देशनालयका निर्देशक प्राविधिक सहायक रथी मुकेश बाटाजुले मन्त्री पुनलाई उद्योगको वर्तमान अवस्था र पुनः सञ्चालनका लागि भइरहेका कामबारे जानकारी गराएका थिए ।
२० वटा लुमबाट परीक्षण उत्पादन
विसं २०५७ देखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी निर्णयअनुसार अहिले परीक्षण उत्पादनको तयारी अघि बढाइएको छ ।
उद्योगमा रहेका ४८८ मेसिनमध्ये नेपाली सेनाले मर्मत तथा सरसफाइ गरेपछि २० वटा लुमबाट कपडा बुन्ने परीक्षण सुरु गरिएको छ । बाँकी मेसिन मर्मतको क्रममा रहेका छन् ।
सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणाली सुधार र मेसिन मर्मतको काम अघि बढाएको थियो । परीक्षण उत्पादनका लागि सरकारले रु. ३३ लाख बजेट उपलब्ध गराएको छ ।
हाल बाहिरबाट धागो ल्याएर पुराना मेसिनबाट कपडा बुन्ने परीक्षण भइरहेको छ । परीक्षण उत्पादनको नतिजा र मेसिनको अवस्थाका आधारमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने सम्भावनाबारे थप निर्णय हुने अपेक्षा गरिएको छ ।












