काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदको विवरण १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले पोसाक तथा सामग्री खरिदसँग सम्बन्धित आन्तरिक, प्राविधिक तथा आर्थिक मूल्यांकन, सम्झौता, आपूर्ति, गुणस्तर परीक्षण, बिल तथा भुक्तानी विवरण पेस गर्न निर्देशन दिएको हो ।
समितिले विगतमा खरिद गरिएका समान प्रकृतिका सामग्रीको विवरणसहित आवश्यक कागजात १५ दिनभित्र उपलब्ध गराउन भनेको छ ।
समितिले प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै परेको उजुरीमाथि प्रहरी प्रमुख र गृह मन्त्रालयका प्रतिनिधिसँग छलफल गरेको थियो ।





