काठमाडौं । जेनजी आन्दोलनले कांग्रेस–एमालेको सत्ता ढालेको तीन दिनपछि कांग्रेस महामन्त्री गगन थापा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन् । भदौ २४ को प्रदर्शनमा गगनको घर जलाइएको थियो ।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देशसहित उनी सार्वजनिक भएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाबाट एउटा निर्णय हुन नसक्दा देशले आज नगन्य क्षति भोगेको बताएका छन् । भदौ २३ गते साँझ देउवाले सरकारबाट बाहिरिने निर्णय गरिदिएको भए मात्र पनि आजको अवस्था अर्कै हुने दाबी गरे ।

ADVERTISEMENT

सभापतिको कारण भदौ २४ को आन्दोलन थप उग्र बनेको र त्यसमा आफू पनि जिम्मेवार रहेको भन्दै थापाले माफीसमेत मागेका छन् । ‘मैले पहिले पनि सभापतिज्यूलाई भन्दै आएको हुँ, तर भदौ २३ गते साँझसम्म जेजति भयो, त्यसपछि म दौडिएर सभापतिकोमा पुगेँ र तत्काल सरकारबाट बाहिरिएको घोषणा गर्न आग्रह गरेँ’, उनले भनेका छन्, ‘गृहमन्त्रीलाई मैले तत्काल राजीनामा दिनुस् भनेपछि उहाँले दिनुभयो, तर सभापतिज्यूलाई मैले जुन आग्रह गरेको थिएँ, त्यो भएन, यदि त्यति गरिदिएको भएमात्रै पनि आजको अवस्था अर्कै हुन्थ्यो ।’

देउवा, केपी ओली, प्रचण्डले राजनीतिबाट विश्राम लिनुपर्छ भन्ने युवाहरुको माग आफूले विगतका कैयौँ वर्षदेखि उठाउँदै आएको उनको भनाइ छ । तर, केही स्वार्थ समूहले आफ्नो घर नै जलाउलान् भनेर कहिल्यै नसोचेको उनको भनाइ छ ।

‘मलाई लाग्छ सार्वजनिक सम्पत्ति र निजी सम्पत्तिमाथि तोडफोड र लुटपाट गर्ने पक्कै पनि वास्तविक जेनजीहरुको चाहना थिएन, उद्देश्य पनि होइन, तर १०–१२ जना मास्क लगाएर आएर, उनीहरुको पछाडि ठूलो हुल थियो’, थापाले भनेका छन्, ‘मैले माथि सिसिक्यामेराबाट हेरिरहेको थिएँ, सुरुमा गाडीमा आगो लगाए, त्यसपछि घरमा सल्काए, म ती सहयोगीहरुप्रति साँच्चीकै ऋणी छु, जसले म, हिँड्न नसक्ने मेरी आमा र परिवारलाई वैकल्पिक मार्गबाट निकालेर आश्रय दिनुभयो ।’

ADVERTISEMENT

घर जलाउँदा आमा रोएपछि आफू पनि धुरुधुरु रोएको महामन्त्री थापाले बताएका छन् । ‘त्यो मेरो कमाइले हालेको घर थिएन, ०४० सालदेखि मेरो बुबाआमाले एक एक रुपैयाँ गरेर जम्मा गरेको बनाएको घर थियो, आमा बेस्सरी रुनुभयो, मैले पनि थाम्न सकिनँ आशु, रोएँ’, उनले भने ।
थापाले युवाहरुलाई संयमित र सजग भएर अबको नेतृत्व लिन पनि सुझाव दिएका छन् । उनले संविधानकै जगमा उभिएर निर्णय लिन भनेका छन् । र, लोकतन्त्र जोगाउन आह्वान गरेका छन् ।