काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले साउन २४ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । साउन २४ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको कांग्रेसले जनाएको छ ।

पार्टी कार्यालयका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपरस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

ADVERTISEMENT

यसअघि साउन १३ मा वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएपछि कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो । बैठकले श्रेष्ठलाई दिइएको वरिष्ठ नेताको सम्मान अनुमोदन गरेको थियो । १३ गते बसेको आकस्मिक बैठकले गोपालमानको विषयमा बाहेक अन्य निर्णय गरेन ।

साउन २४ गते केन्द्रीय समितिको बैठक बस्ने भनिए पनि एजेन्डा खुलाइएको छैन । केही दिनभित्रै कार्यसम्पादन समिति वा पदाधिकारी बैठक बसेर एजेन्डा तय गर्ने तयारी छ ।
कांग्रेसको १५औं महाधिवेशनको प्रक्रिया आगामी महिनाको पहिलो हप्ताबाट सुरु हुँदै छ । महाधिवेशन प्रक्रिया सुरु हुनै लाग्दा कांग्रेस भने विभाजनको संघारमा छ।

ADVERTISEMENT

इतर पक्षले शशांक कोइरालालाई अघि सारेर साउन २९ मा राष्ट्रिय भेला बोलाएको छ । सो भेलाले कांग्रेसबाट अलग्गिएको घोषणा गर्दै नयाँ पार्टी बनाउने भएको छ । चर्चामा आएअनुसार नयाँ पार्टीको नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिन्ह ‘शंख’ राखिनेछ । महाधिवेशन नभएसम्मका लागि शशांक कोइराला सभापति बन्नेछन् ।

इतर पक्ष नयाँ दल खोल्ने गृहकार्यमा लागेका बेला कांग्रेस सभापति थापाले साउन २४ मा केन्द्रीय समितिको बैठक डाकेका हुन् । यसअघि नै थापाले कांग्रेसमा देखिएको किचलो साउन तेस्रो सातासम्ममा मिल्ने बताइसकेका छन् ।