काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले भदौ २३ गते अकल्पनीय घटना भएको भन्दै १९ जना मारिएकोमा माफी मागेका छन् । उनले सो दिनको घटनाले आफूहरूको अनुहारमा दाग लागे पनि बलियो बनेर उठ्ने प्रण गरेका छन् ।

‘भदौ २३ गते हामी कसैले नचाहेको अकल्पनीय घटना भयो, तपाईं र म सरकारमा थिएनौं तर हाम्रो पार्टी सरकारमा थियो। हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन, हामीले हाम्रो दाग पुर्नुपर्छ। कांग्रेस पार्टी यस विषयमा सिंगो देशसँग माफी माग्नुपर्छ, यो घाउलाई पुर्ने हामीले कोसिस गर्नुपर्छ,’ थापाले शुक्रबार राखेको फेसबुकमा भिडिओ सन्देशमा भनेका छन्।

थापाले भदौ २४ गते छानीछानी सार्वजनिक सम्पत्ति र व्यक्तिका घर जलाउँदा ठूलो क्षति भएको बताए।

‘हाम्रा कार्यालय र सम्पदा कहाँ कति क्षति छ अहिले कसैले अनुमान गर्न सक्दैन, पार्टी सभापतिदेखि लिएर सयौं साथीहरूमाथि भौतिक आक्रमण र हाम्रा साथीहरूका घर र सम्पत्ति छानेर आगजनी र तोडफोड भएको छ, स्वभाविक आक्रोशलाई स्वीकार गर्नुपर्छ, सहज बनाउँदै लैजानुपर्छ। तर जहाँ नियतवश भएको छ, तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ,’ उनले भनेका छन्, ‘तत्काल नयाँ सरकार बनेपछि कांग्रेसको माग रहन्छ- भदौ २३ र २४ दुवै दिनमा भएका अमानवीय जति पनि घटना छन्, क्रुर घटना प्रत्येकको छानबिन र जोसुकै होस् त्यसले कानुनअनुसार कारबाही हुनुपर्छ।’

पुनर्निर्माणको पहलकदमी कांग्रेसले लिनुपर्ने उनले बताए। विगतमा पनि घाउचोटलाई बिर्सेर कांग्रेसले माओवादीसँग हात मिलाएको उल्लेख गर्दै उनले कांग्रेसको जिम्मेवारीमा फेरि यस्तै पहल चाहिएको बताए। ‘उत्तेजना फैलाउने होइन, सबैलाई जोड्न साथीहरूले पहल लिनुहोस्,’ उनले भने। अहिलेको स्थितिबाट देशलाई बाहिर ल्याउन कांग्रेसले पहल गरिरहेको पनि उनले बताए।

थापाले जेनजीले राखेका माग विषयमा कांग्रेसको समर्थन रहेको पनि बताएका छन् ।

‘यो बेलामा जेनजी आन्दोलनकारी साथीहरूले जे माग राख्नुभएको छ, त्यो मागलाई सम्मान र सम्बोधन गरेर मात्रै देशअघि बढ्न सक्छ, अन्तरिम सरकार बनाउने कुरा छ। सम्भवतः आज साँझसम्म अन्तरिम सरकारको कुरा टुंगिएला। आन्दोलनकारी साथीहरूले माग गरेअनुरूप उहाँहरूले छानेको व्यक्तिको नेतृत्वमा सरकार बनाउने कुराका निम्ति कांग्रेस तयार मात्र होइन यसका लागि वातावरण बनाइरहेको छ,’ महामन्त्री थापाले भनेका छन् ।

गगनले बिहीबार पनि फेसबुकमार्फत आफ्नो र पार्टीका धारणा राखेका थिए । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले एक दिन ढिला निर्णय गर्दा कांग्रेसले ठूलो क्षति बेहोरेको बताएका थिए ।

https://www.facebook.com/thapagk/videos/2484741748576106