काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाटै माफी माग्नुपर्ने बताएका छन् ।

रुपन्देहीमा आयोजित कांग्रेसको जरा अभियानको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा सोमबार उनले ‘नेपालले भारतको सीमा मिचेको छ’ भनेर प्रधानमन्त्रीले संसदबाट बोल्नु राष्ट्रिय लज्जाको विषय भएको बताए । थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको अखण्डतालाई खण्डित गरेको भन्दै संसदबाटै माफी माग्न आग्रह गरे ।

ADVERTISEMENT

‘प्रधानमन्त्रीको भनाइले जनता र प्रधानमन्त्री बनाउने मतदातालाई लज्जित गराउने अनैतिक र अराजनीतिक कदमको कांग्रेसले विरोध गर्छ । संसदको रोस्ट«ममा मैले नजानेर गल्ती बोले भनेर माफी माग्नुस् । त्यसमा कांग्रेसले कुनै अवरोध गर्ने छैन,’ उनले भने ।

थापाले प्रधानमन्त्रीले नबुझेर बोलेको भए चिन्ताजनक र जानीजानी बोलेको भए खतरनाक रहेको टिप्पणीसमेत गरे । संविधान, कानुन र राष्ट्रभन्दा माथि कोही नभएको उनको भनाइ थियो ।

ADVERTISEMENT

थापाले प्रधानमन्त्री बालेनको विवादास्पद अभिव्यक्तिमा संसदमा ताली बजाउने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आह्वान गरेका छन् ।

‘हाम्रो देशले पनि अरूको सिमाना मिचेको छ भन्ने जस्तो राष्ट्रघाती अभिव्यक्तिमा समर्थन जनाउन सांसदहरूलाई जनताले संसदमा पठाएका होइनन्,’ उनले भने, ‘त्यसका विरुद्ध बोल्न र जवाफदेही बनाउन मतदाताहरूले दबाब दिनुपर्छ।’

सभापति थापाले संसदबाट जबर्जस्ती प्रतिनिधिसभा नियमावली २०८३ पारित गरिएको भन्दै त्यसप्रति पनि कडा आपत्ति जनाए। सभामुख र सत्तारुढ दलले यस विषयमा पुनर्विचार नगरे अदालत जाने संकेत गर्दै उनले उक्त घटनालाई संसदीय इतिहासकै कालो दिनको संज्ञा दिए।

पार्टीको आन्तरिक विषयमा बोल्दै उनले आगामी निर्वाचनमा उम्मेदवार बन्न नेताहरूलाई रिझाएर होइन, कार्यकर्तालाई विश्वासमा लिएर अघि बढ्नुपर्ने स्पष्ट पारे । क्रियाशील सदस्यता अध्यावधिकको मुख्य उद्देश्य उम्मेदवार छनोट प्रक्रियामा क्रियाशील सदस्यहरूको मतलाई आधार बनाउनु रहेको उनले बताए ।