काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताएका छन् ।
कांग्रेसका केही निवर्तमान सांसदहरू प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा हस्ताक्षर संकलनमा लागेपछि महामन्त्री थापाले फागुन २१ मै निर्वाचन हुने र त्यसअघि पार्टीको महाधिवेशन हुने बताएका हुन् । कांग्रेसका देउवा निकट सांसदहरु एमालेको लहलहैमा लागेर संसद् पुनःस्थापनाको माग गर्न हस्ताक्षर अभियानमा जुटेका छन् ।
महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद् र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गरे । ‘संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन मात्र एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन,’ उनले भनेका छन् ।
थापाले नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको निर्णय स्पष्टरूपमा प्रस्तुत गरिसकेको पनि बताए । उनले कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल निर्वाचनको विषयका सन्दर्भमा नभएको स्पष्ट पारे ।
महामन्त्री थापाले निर्वाचनअघि पार्टीको अधिवेशन गरे अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र कांग्रेसलाई निर्वाचन लड्न योग्य बनाउने पनि बताए ।
‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन। यस सन्दर्भमा हामी स्पष्ट छौँ। निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो।अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन।
नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ। यसमा कसैले पनि द्विविधा नराखौँ,’ उनले भनेका छन् ।





