काठमाडौं । जेनजी पुस्ताको आन्दोलनमा शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका १५ जना मारिएपछि सरकारबाट बाहिरिन कांग्रेसमाथि चौतर्फी दबाब परेको छ । साथै, गृहमन्त्री रमेश लेखकले तुरुन्तै पदबाट राजीनामा दिनुपर्ने कांग्रेस नेताहरूले नै माग गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेलले सोमबारको हत्याकाण्डपछि कांग्रेस सरकारमा बस्न अयोग्य रहेको भन्दै उनले गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ । उनले कुनै इफ, बट नभनी सरकारबाट बाहिरिनुमै कांग्रेसका लागि उचित हुुने धारणा राखेका छन् ।

अहिले सामाजिक सञ्जालमा कांग्रेसलाई सरकारमा बस्नुको कुनै उपादेयता नभएको भन्दै तुरुन्त निर्णय गर्न दबाब परेको छ । कांग्रेसले आइतबार मात्र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खुलाउन सरकारसँग छलफल गर्ने निर्णय गरेको थियो । कांग्रेस महामन्त्री गगन थापाले सरकारले कांग्रेससँग सल्लाह नै नगरी सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको भन्दै आक्रोश पोखेका थिए । त्यसपछि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली र पार्टीकै मन्त्रीहरूसँग छलफल गर्ने बताएका थिए ।

ADVERTISEMENT

जेनजी पुस्ताको आन्दोलनमा ठूलो नरसंहार भएपछि अहिले राष्ट्रिय सुरक्षा परिषदको बैठक बसिरहेको छ । बैठकमा प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, चारवटै सुरक्षा अंगका प्रमुखहरूको उपस्थिति रहेको छ ।

ADVERTISEMENT