काठमाडौं । जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रहबमोजिम जंगी अड्डाले फिल्डमा सेना खटाएको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नयाँ बानेश्वर क्षेत्रपछि राष्ट्रपति निवास, उपराष्ट्रपति कार्यालय, नारायणहिटी दरबार संग्रहालय क्षेत्र र सिंहदरबार क्षेत्र वरपर कफ्र्यु लगाएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले थप क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।
कर्फ्यू आदेशपछि नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन भएको छ । कर्फ्यू तोकिएका अन्य स्थानमा पनि सेना परिचालन हुँदै छ ।
जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको छ । नयाँबानेश्वरस्थित सिभिल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा गरी उनीहरूको मृत्यु भएको हो । घाइतेको संख्या सयभन्दा बढी भएको बताइन्छ । सिभिल अस्पताल भरिएको र अन्य घाइतेलाई पाटन अस्पताल पठाइएको छ । घाइतेमध्ये केहीको अवस्था निकै गम्भीर भएको सिभिल अस्पातलले बताएको छ ।
फिल्डमा खटिएका सेनालाई प्रदर्शनकारीले गो ब्याकको नारा लगाएका छन् । प्रदर्शनकारीले सशस्त्र प्रहरीको गाडी रोक्ने प्रयास गरेका छन् ।








