काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीबाहिर रहेका लोकतन्त्रवादी र जेनजी पुस्तालाई कांग्रेससँग जोड्ने पहल गर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै आचार्यले पार्टीभित्र आफूहरूले उठाउँदै आएको परिवर्तन र रूपान्तरणको आवाजलाई महाधिवेशन प्रतिनिधिहरूले अनुमोदन गरेको बताए।
आफूहरूले अघि सारेका एजेन्डामा काम गर्न र प्रतिबद्धता पूरा गर्न प्रतिनिधिहरूले थप जिम्मेवार बनाएको उनको भनाइ छ। नेता तथा कार्यकर्तासँगै जनताको भरोसा प्राप्त भएकाले त्यसलाई पूरा गर्न अझ बढी मेहनत र ऊर्जाका साथ काम गर्नुपर्ने उनले बताए।
आचार्यले पार्टीको रूपान्तरणसँगै कांग्रेसबाहिर रहेका लोकतन्त्रमा विश्वास गर्ने नागरिकलाई पनि पार्टीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। लोकतन्त्रमा विश्वास राखे पनि कुनै राजनीतिक दलमा आबद्ध नभएको ठूलो जनमतलाई कांग्रेससँग जोड्न पहल गर्नुपर्ने उनको भनाइ छ।
त्यसैगरी, परिवर्तनका एजेन्डासहित अघि आएको जेनजी पुस्ताका अपेक्षा पूरा हुन नसकेको उल्लेख गर्दै उनले उनीहरूलाई सडकबाट कांग्रेसभित्र ल्याएर एजेन्डामा सहकार्य गर्नुपर्ने बताए।
पार्टीलाई रूपान्तरण गर्ने र पार्टीबाहिर रहेका लोकतन्त्रवादी तथा जेनजी पुस्तासँग सहकार्य गर्ने जिम्मेवारी आफूले महसुस गरेको आचार्यले बताए।












