काठमाडौं । भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै सडकमा उत्रिएको जेनजी पुस्ता प्रहरीले तोकेको निषेधित क्षेत्र तोडेर बानेश्वरतर्फ अगाडि बढेको छ ।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले दुई राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । आन्दोलनरत युवा पुस्ता बानेश्वरस्थित संसद् भवन अगाडि पुगेर प्रदर्शन गर्ने तयारीमा छ ।

ADVERTISEMENT

आन्दोलनमा प्रधानमन्त्री केपी ओलीको फोटो च्यातिएको छ । बिहान माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरतर्फ अघि बढ्नेक्रममा प्रदर्शनकारीले सडकका पोलमा टाँसिएका ओलीका तस्वीर च्यातचुत पारेका हुन् ।

ADVERTISEMENT

सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध युवा एकताको प्रतिबद्धतासहित सडकमा उत्रिएका युवाहरुले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा अघि सारेका छन् । ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ बोलको गीतमा गुञ्जिएका उनीहरुलाई समर्थन गर्न जेनवाइ (अघिल्लो) पुस्ता पनि प्रदर्शनस्थलमा पुगेको देखिन्छ ।

कलेज ड्रेसमै सहभागी भएका युवाहरुले हातमा सरकारविरुद्ध नारा लेखिएको नेमप्लेट बोकेका छन् । प्रदर्शनमा १० हजारभन्दा युवायुवती सहभागी भएका छन् । युवाहरु आउनेक्रम जारी रहेकोले यो संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

ADVERTISEMENT