काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साउन १ गतेदेखि आफ्नो वेबसाइटको ‘मार्केट डेप्थ’ मा थोरै कित्ताको सेयर किनबेच गर्न राखिएको अर्डरदेखिने व्यवस्था लागू गर्ने भएको छ। यसबाट सेयर बजारमा थोरै सेयर (१ देखि ९ कित्तासम्म) बेच्न र किन्न नपाएको सर्वसाधारण लगानीकर्ताको गुनासो सम्बोधन भएको छ।

यसअघि थोरै सेयर बेच्न र किन्न खोज्दा बजारमा त्यो अर्डर देखिँदैनथ्यो। अब भने ‘मार्केट डेप्थ’ मा ती अर्डरहरू देखिने भएकाले जसले पनि सजिलै थोरै सेयर किनबेच गर्न सक्ने नेप्सेले जनाएको छ।

ADVERTISEMENT

नेप्सेका अनुसार लगानीकर्ताले ‘अडलट’ भनिने यस्तो थोरै कित्ताका सेयर बजारमै किनबेच गर्न नपाएको गुनासो आएपछि यस्तो नयाँ सुविधा ल्याएको हो। अहिलेसम्म नेप्सेको सिस्टममा १–९ कित्ताको सेयर किनबेच गर्न चाहनेहरूले अर्डर नै देख्न पाउँदैनथे। त्यसैले धेरैको खातामा थोरै सेयर अलपत्र परेका थिए।

अबदेखि थोरै सेयर किनबेच गर्न चाहनेले अर्डर राखेपछि त्यो ‘मार्केट डेप्थ’ मा देखिनेछ। जसले गर्दा त्यस्तो अर्डर अरू सबै लगानीकर्ताले पनि देख्न पाउनेछन् र खरिद वा बिक्री गर्न सक्नेछन्।

ADVERTISEMENT

नेप्सेका अनुसार, बजारमा छरिएर रहेका यस्ता थोरै सेयर पनि सहजै किनबेच हुने र लगानीकर्तालाई पोर्टफोलियो मिलाउन सजिलो हुने अपेक्षा गरिएको छ।