काठमाडौं । काठमाडौं प्रशासनले आइतबार दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्म नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरे पनि, युवापुस्ताको आक्रोश सडकमा झल्किइरहेको छ।

भ्रष्टाचार, नेताको छोरा –छोरीको विलासी जीवनशैली, र सामाजिक सञ्जालमा लगाइएको रोकप्रति असन्तुष्टि पोख्दै जेनजी पुस्ताका युवाहरूले संसद भवन केन्द्रित आन्दोलनलाई जारी राखेका छन्।

ADVERTISEMENT

माइतीघरबाट सुरु भएको प्रदर्शन प्रहरीको कडाइका बीच ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको थियो। तीनकुनेतर्फबाट अघि बढेको अर्को समूह संसद भवनको मुख्य गेटसम्म पुगेको छ। केही प्रदर्शनकारीले प्रहरी घेरा तोड्दै संसद भवनको आँगनसम्म प्रवेश गरेको समेत देखिएको छ।

प्रहरीले भिड नियन्त्रणका लागि पटक–पटक अश्रुग्यास प्रहार गरेको छ भने गोली चलाउँदा सञ्चारकर्मीसमेत घाइते भएका छन्। त्यसैबीच, नयाँबानेश्वर क्षेत्रमा व्यापक सुरक्षा घेराबन्दी कायम गरिएको भए पनि युवाहरूको भीड अझै तितरबितर भएको छैन।

ADVERTISEMENT

संसद भवनका तीनैवटा गेट प्रदर्शनकारीले कब्जामा लिएपछि अवस्था थप तनावग्रस्त बनेको छ। कर्फ्यू आदेश लागू भए पनि सडकमा युवाहरूको भीड नराम्ररी चर्किएको देखिन्छ।

यसैबीच, प्रशासनले बानेश्वर चोक वरपरका क्षेत्र एभरेष्ट होटलदेखि बिजुलीबजार पुल, मिन भवनदेखि तीनकुने, आइप्लेक्स मलदेखि रत्नराज्य विद्यालय, र शंखमुल पुलसम्म आवागमन पूर्णरूपमा निषेध गरिएको स्पष्ट पारेको छ।