मुस्ताङ । नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ–१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ ।
कोरलानाकाबाट शंकास्पद रूपमा लुकाईछिपाईकन भन्सार छलेर ल्याइँदै गरेका दुईवटा कन्टेनरको खानतलासी गर्दा उक्त परिमाणमा विद्युतीय चुरोट फेला परेको हो ।

कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार दुई दिनअघि कोरलानास्थित चिनियाँ भन्सारबाट लोड गरिएका ना६ख ४७४३ र ना५ख ७९२१ नम्बरको मालवाहक कन्टेनरहरू शनिबार साँझसम्म कोरलानाकामा रोकिएका थिए ।

ADVERTISEMENT

सार्वजनिक बिदाको दिन भन्सारका कर्मचारी लोमान्थाङको तिजी पर्व हेर्न गएको मौका छोपी उक्त दुईवटा कन्टेनर भन्सार छलेर लोमान्थाङतर्फ आउँदै गरेको अवस्थामा भन्सार कार्यालय र सुरक्षा निकायको रोहवरमा नियन्त्रणमा लिइएको थियो ।

मुस्ताङ भन्सार कार्यालयका कर्मचारी तथा सुरक्षा निकायले अवैध रूपमा लुकाईछिपाई भेप लैजान लागेको गोप्य सूचना पाएपछि भन्सारका कर्मचारी र सुरक्षा निकायको टोलीले कन्टेनर नियन्त्रणमा लिएको हो ।

ADVERTISEMENT

भन्सार कार्यालयका अनुसार कन्टेनरमा राखिएको एक कार्टुनमा २२० वटा भेप रहेको जनाएको छ । उक्त सङ्ख्याका आधारमा दुईवटा ट्रकमा करिब एक लाख २० हजार बढी भेप रहेको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायको रोहवरमा बरामद गरिएका भेपको परिमाण र अनुमानित मूल्यको भन्सार मुचुल्का गर्ने तयारी गरिहेको जनाएको छ । कन्टेनरका चालक सन्तोष लामा र फोन्तोज धोर्जेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

कोरलास्थित स्रोतका अनुसार अवैध रूपमा ल्याइएका दुईवटा कन्टेनर नेपाल–चीन कोरलानाकाको २४ नं सीमास्तम्भ नजिक दुई दिनसम्म शंकास्पद रूपमा रोकिएका थिए ।
चिनियाँ भन्सारबाट मालवस्तु लोड गरिएर कोरलानाकाबाट नेपाल भित्रिएका दुई कन्टेनर तल नझरेपछि भन्सार कार्यालयले कडा निगरानी बढाएको थियो । स्रोतका अनुसार अवैध रूपमा भेप ओसारपसार गर्ने गिरोहले प्रहरी र सशस्त्र प्रहरीलाई देखाउने नक्कली कागजपत्र तयार पारिराखेको बताइएको छ ।

यसअघि चालु वर्षको पुस ९ गते पनि कोरलानाकाबाट दुई करोड २४ लाख मूल्य बराबरको १६ हजार थान भेप बरामद गरिएको थियो । गत वर्ष कोरलानाकाबाट भित्रिएका ६ करोड ८१ लाख मूल्य बराबरको भेप भन्सार र सुरक्षा निकायको टोली बरामद गरेको थियो ।