काठमाडौं । राजधानीमा जारी जेनजी (Gen Z) आन्दोलनले आज अभूतपूर्व मोड लिएको छ। पुराना दलहरूको भ्रष्टाचार र कुशासनविरुद्ध सडकमा उत्रिएका प्रदर्शनकारीहरूले नयाँबानेश्वरस्थित संसद भवनका तीनै मुख्य प्रवेशढोकामा कब्जा जमाएका छन्।

माइतीघर र तीनकुनेतर्फबाट अघि बढेको विशाल जुलुस प्रहरीको असुर ग्यास प्रहार र कडा सुरक्षा घेरा तोड्दै संसद भवनसम्म पुगेको हो। सुरक्षाकर्मीहरूको प्रतिरोधका बाबजुद जेनजी प्रदर्शनकारीहरूले गेट चढेर भित्र प्रवेश गरेका छन् र अहिले संसद भवनको सबै प्रवेशद्वार उनीहरूको नियन्त्रणमा रहेको छ।

ADVERTISEMENT

घटनाले संसद भवन वरिपरि तनावपूर्ण अवस्था सिर्जना गरेको छ। प्रहरीलाई थप बल प्रयोग गर्ने तयारी भए पनि ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीहरूको भीडलाई तत्काल नियन्त्रणमा लिन कठिनाइ भएको देखिएको छ।

जेनजी प्रदर्शनकारीहरूले “भ्रष्टाचार अन्त्य होस्”, “पुराना दलहरू हट” जस्ता नाराबाजी गर्दै संसद भवन परिसरमा निरन्तर उपस्थित रहेका छन्। यसले मुलुकको राजनीतिक स्थिरतामाथि गम्भीर प्रश्न उठाएको छ।