काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पुसको पहिलो साताभित्र जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको बताएका छन् । जिल्ला अधिवेशन सम्पन्न भएको तीन–चार दिनभित्रै प्रदेश अधिवेशन गर्ने र त्यसपछि पार्टीलाई स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित गर्ने उनले जानकारी दिएका छन् ।

आइतबार छठ पर्व मनाउन सर्लाही क्षेत्र नम्बर ४ पुगेका सभापति थापाले पार्टीको आगामी सांगठनिक कार्यतालिकाबारे जानकारी दिँदै अब बस्ने केन्द्रीय कार्यसमिति बैठकमा जिल्ला तथा प्रदेश अधिवेशनका विषयमा छलफल हुने बताए । केन्द्रीय समिति बैठकको छलफलपछि केन्द्रीय निर्वाचन समितिमार्फत अधिवेशनको मिति तय गरिने उनको भनाइ छ ।

ADVERTISEMENT

‘पुसको पहिलो साता जिल्ला अधिवेशन गर्छौं, त्यसपछि तीन–चार दिनमा प्रदेश अधिवेशन गरिन्छ,’ उनले भने, ‘यी दुई अधिवेशन सकेपछि हामी स्थानीय तह निर्वाचनको तयारीमा जुट्छौँ ।’

ADVERTISEMENT

कांग्रेसले यसअघि जिल्ला र प्रदेश अधिवेशन सम्पन्न नगरी १५औँ केन्द्रीय महाधिवेशन गरेको थियो । त्यसैले जिल्ला तथा प्रदेश तहका अधिवेशनलाई पूर्णता दिने तयारीलाई पार्टीको सांगठनिक संरचना व्यवस्थित गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ ।

सभापति थापाले जिल्ला र प्रदेश अधिवेशन सम्पन्न भएपछि पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने स्पष्ट पारेका छन् । यसका लागि पार्टीका स्थानीय संरचनालाई सक्रिय बनाउने, संगठनलाई व्यवस्थित गर्ने र निर्वाचनको तयारी अघि बढाउने कांग्रेसको योजना देखिन्छ ।

यसैबीच, स्थानीय तह निर्वाचनको मितिबारे छलफल गर्न निर्वाचन आयोगले प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाएको पनि सभापति थापाले जानकारी दिए । उनका अनुसार आयोगले मंसिर ४ गते राजनीतिक दलहरूसँग छलफल गर्ने कार्यक्रम राखेको छ ।

आयोगसँगको छलफलपछि स्थानीय तह निर्वाचन कहिले हुने भन्ने विषयमा थप स्पष्टता आउने उनको अपेक्षा छ । ‘निर्वाचन आयोगले मुख्य राजनीतिक दलहरूलाई छलफलमा बोलाएको छ । त्यो दिनको छलफलपछि स्थानीय तह निर्वाचन कहिले हुने तिथिमिति तय होला,’ उनले भने ।

स्थानीय तह निर्वाचनको मिति र तयारीबारे राजनीतिक दल तथा निर्वाचन आयोगबीच छलफल अघि बढिरहेका बेला कांग्रेसले पनि आफ्नो सांगठनिक गतिविधिलाई तीव्रता दिने संकेत गरेको छ । जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गरेर निर्वाचनमा केन्द्रित हुने सभापति थापाको घोषणाले पार्टीको आगामी राजनीतिक कार्यदिशा स्थानीय तह निर्वाचनतर्फ उन्मुख भएको देखाएको छ ।

यसै क्रममा सभापति थापाले केन्द्रीय सरकार प्रभावकारी ढंगले सञ्चालन हुन नसकेको टिप्पणीसमेत गरेका छन् । यद्यपि, सरकार सञ्चालनमा देखिएको कमजोरीबारे उनले थप विवरण सार्वजनिक गरेका छैनन् ।