कञ्चनपुर।क्षतिग्रस्त दोधारा चाँदनी झोलुङ्गे पुलमा नेपाल टेलिकमको चुँडिएको तार तान्ने क्रममा बेपत्ता भएका सशस्त्र प्रहरीका सहायक निरीक्षक सन्दीप थारुको शव फेला परेको छ। परिवारले प्राविधिक काममा प्रहरीलाई खटाइएको भन्दै प्रश्न उठाएको छ।

कञ्चनपुर । महाकाली नदीमा बेपत्ता हुनुभएका सशस्त्र प्रहरीका सहायक निरीक्षक सन्दीप थारुको शव पाँच दिनपछि फेला परेको छ। क्षतिग्रस्त दोधारा चाँदनी झोलुङ्गे पुलमा नेपाल टेलिकमको चुँडिएको तार तान्ने क्रममा उहाँ बेपत्ता हुनुभएको थियो।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार थारुको शव क्षतिग्रस्त झोलुङ्गे पुल क्षेत्रमा तैरिरहेको अवस्थामा फेला परेको हो। गोताखोरसहितको टोलीले गत शनिबारदेखि उहाँको खोजी गरिरहेको थियो।

ADVERTISEMENT

गत शनिबार दिउँसो नेपाल टेलिकमको तार तान्ने क्रममा रबर बोट अनियन्त्रित भएपछि थारु महाकाली नदीमा बेपत्ता हुनुभएको थियो।

बर्दियाको ठाकुरबाबा नगरपालिका–६ घर भएका थारु चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत एक साताअघि मात्रै दार्चुलाबाट कञ्चनपुर खटिनुभएको थियो।

ADVERTISEMENT

मृतकका परिवारले भने टेलिकमको तार तान्ने काम प्राविधिकको जिम्मेवारी भएको भन्दै सशस्त्र प्रहरीका सहायक निरीक्षकलाई उक्त काममा खटाइएको विषयमा आपत्ति जनाएका छन्। मृतकका बुबा धनबहादुर थारुले प्राविधिकले गर्नुपर्ने काममा छोरालाई खटाइएको भन्दै प्रश्न उठाउनुभएको छ। प्रहरीले शव नदीबाट बाहिर निकालेर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।