विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्न स्विट्जरल्यान्डसँग आग्रह गरेका छन् ।
स्विस राजदूत डा. ड्यानियल म्युवलीसँग मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा भएको भेटमा मुख्यमन्त्री कार्कीले प्रदेशमा विपद्का कारण देखिएका समस्या न्यूनीकरणका लागि सहकार्य आवश्यक रहेको बताएका हुन् ।
भेटमा दुई पक्षीय हित, आपसी सहकार्य र विकास सहयोगका विषयमा छलफल भएको थियो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा पदमार्ग निर्माण तथा व्यवस्थापन र शासकीय सुधारका क्षेत्रमा स्विस सरकारले गरेको सहयोगको प्रशंसा गरेका थिए ।
उनले प्रदेशको आर्थिक समृद्धिका लागि सरकारले विभिन्न परियोजना अघि बढाइरहेको र तिनको कार्यान्वयनमा उत्साहजनक प्रगति भइरहेको पनि बताए । प्रदेश सरकारले विकासका कार्यक्रमलाई छिटो र प्रभावकारी ढंगले अघि बढाइरहेको उनको भनाइ थियो ।
जवाफमा स्विस राजदूत म्युवलीले कोशी प्रदेशको विकास र समृद्धिका लागि सहयोग जारी राख्ने बताए । उनले सञ्चालित कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा सहकार्यलाई अघि बढाउने उल्लेख गरे ।
भेटमा स्विस सरकार विकास सहयोगका प्रमुख म्याथियास मायर, कोशी प्रदेशका प्रमुख सचिव नारायणप्रसाद भट्ट, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मुख्य न्यायाधिवक्ता नारायण बस्ती, आर्थिक सल्लाहकार मोहन सुवेदी तथा प्रेस सल्लाहकार विक्रम लुइँटेललगायतको उपस्थिति थियो ।












