काठमाडौं — नेपाली कांग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन ४० सदस्यीय रणनीतिक परिचालन टोली गठन गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा तीन दिनसम्म सञ्चालन गरिएको विपद् पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी प्रशिक्षण कार्यक्रमको समापन समारोहमा पार्टीका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले टोली गठनको घोषणा गरेका हुन्।

ADVERTISEMENT

प्रशिक्षणमा सहभागी ४० युवालाई समेटेर गठन गरिएको उक्त टोलीले विपद्का समयमा उद्धार, समन्वय तथा राहत व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

समापन समारोहलाई सम्बोधन गर्दै उपसभापति शर्माले तीनदिने प्रशिक्षणलाई केवल सुरुवातका रूपमा लिन आग्रह गर्दै अबको यात्रा विपद्मा परेका नागरिकको जीवन रक्षा गर्ने र समुदायमा सेवा पुर्‍याउने दीर्घकालीन अभियान भएको बताए।

उनले नेपाली कांग्रेसले देशभर विपद् व्यवस्थापनका लागि करिब एक हजार दक्ष स्वयंसेवक तयार गर्ने लक्ष्य लिएको जानकारी दिए। कांग्रेस समाज र राष्ट्रप्रति उत्तरदायी राजनीतिक शक्तिका रूपमा विपद्को समयमा नागरिकको साथमा उभिन सधैं प्रतिबद्ध रहेको उनको भनाइ थियो।

ADVERTISEMENT

तीनदिने प्रशिक्षणमा संयुक्त राष्ट्रसंघ (यूएन) तथा अन्तर्राष्ट्रिय रेडक्रससँग आबद्ध अनुभवी विज्ञहरूले विपद् पूर्वतयारी, उद्धार, प्रतिकार्य तथा समन्वयका विभिन्न पक्षबारे सहभागीलाई सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण दिएका थिए।