काठमाडौं । उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्याउन चीनले नेपाललाई आपत्कालीन जलविज्ञानसम्बन्धी निगरानी सूचना निरन्तर उपलब्ध गराउने भएको छ।
जलस्रोत मन्त्रालयका अनुसार चीनले नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी जानकारीसमेत नेपालसँग आदानप्रदान गर्नेछ।
चीन–नेपाल केरुङ–रसुवा सीमा क्षेत्रमा भीषण पहिरो गएपछि चीनका मौसमसम्बन्धी अधिकारीहरूले नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्वसूचना तथा सम्भावित प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएका छन्।
विपद्पछि चीनको मौसम प्रशासनले तत्कालै नेपालको मौसम विज्ञान विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्शसमेत गरेको थियो। चिनियाँ पक्षबाट प्राप्त हुने जलविज्ञान तथा मौसमसम्बन्धी सूचनाले नदीको बहाव, सम्भावित बाढी तथा पहिरोको जोखिम पहिचान गर्न र विपद् प्रतिकार्य तथा पूर्वतयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विशेषगरी नदीमा आकस्मिक रूपमा बनेका अवरोध फुट्दा आउन सक्ने बाढी तथा हिमताल विस्फोटबाट उत्पन्न हुन सक्ने जोखिमबारे समयमै सूचना प्राप्त गर्नु विपद् व्यवस्थापनका लागि महत्वपूर्ण मानिन्छ।






