काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणलाई सकारात्मक सुरुवातका रूपमा व्याख्या गरेका छन् ।
भ्रमणका क्रममा इतिहासदेखि थाती रहेका असमान सन्धि, सीमा विवाद र आर्थिक परनिर्भरतालगायतका विषयमा ठोस प्रगति नभए पनि तत्कालीन विषयमा भएका सहमति सन्तोषजनक रहेको उनको टिप्पणी छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले भ्रमणका क्रममा जारी २४ बुँदे संयुक्त विज्ञप्ति, आठवटा समझदारीपत्र, द्विदेशीय भिजन डकुमेन्ट, दुवै देशका छ/छ वटा परियोजनाको उद्घाटन तथा घोषणा र आर्थिक प्याकेजलाई उपलब्धिका रूपमा उल्लेख गरेका छन् ।
यीमध्ये कतिपय विषय शृंगारिक देखिए पनि पछिल्लो समय देखिएको अन्योल र आशंका हटाउँदै सम्बन्धमा नयाँ सकारात्मक सुरुवात हुन खोजेको उनको विश्लेषण छ ।
दुवै देशका प्रधानमन्त्रीको हाउभाउ र एकअर्काप्रतिको शब्द चयनले समेत बढ्दो कूटनीतिक न्यानोपनको संकेत गरेको उनले बताएका छन् ।
यद्यपि, संरचनात्मक समस्याहरू कुनै पनि बेला पुनः बल्झिन सक्नेतर्फ उनले सचेत गराएका छन् । अहिले भएका सहमति र प्रतिबद्धताको कार्यान्वयनमा जटिलता कायमै रहेको उनको भनाइ छ ।
समग्रमा, विषम परिस्थितिमा बनेको नयाँ सरकार र युवा प्रधानमन्त्रीले संवेदनशील परराष्ट्र सम्बन्धको क्षेत्रमा हासिल गरेको उपलब्धिका लागि बधाई दिनु उचित हुने धारणा भट्टराईले व्यक्त गरेका छन् ।












