काठमाडौं । भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको द्विपक्षीय वार्तापछि सोमबार यस्तो घोषणा गरेका हुन् ।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको युवा पुस्ताको क्षमता, सीप र नवप्रवर्तनलाई प्रोत्साहन गर्न भारत सहकार्य गर्न तयार रहेको बताए ।

ADVERTISEMENT

उनले नेपाली युवामा प्रतिभा, ऊर्जा र महत्वाकांक्षी सपना रहेको उल्लेख गर्दै उनीहरूको आकांक्षा पूरा गर्न भारत साझेदार बन्न चाहेको बताएका हुन् ।

ADVERTISEMENT

भारतको घोषणाअनुसार नेपालमा आईआईटी क्याम्पस स्थापनासँगै नेपाली विद्यार्थीका लागि भारतमा उच्च शिक्षा हासिल गर्ने छात्रवृत्तिका अवसरसमेत विस्तार गरिनेछ । विशेषगरी कानुन र प्रविधिको क्षेत्रमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने मोदीले बताएका छन् ।

प्रधानमन्त्री शाहको पहिलो द्विपक्षीय भारत भ्रमणका क्रममा जारी संयुक्त दृष्टिकोणपत्रमा शिक्षा, प्रविधि र नवप्रवर्तनलाई महत्वपूर्ण प्राथमिकताका रूपमा समेटिएको छ । मोदीले यी पहललाई विकसित भारत र समुन्नत नेपालको साझा लक्ष्य हासिल गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन् ।

त्यस्तै, नेपालको कृषि उत्पादनको प्रशोधन र मूल्य अभिवृद्धिका लागि कृषि औद्योगिक पार्क स्थापना गर्न भारतले सहयोग गर्ने भएको छ । यसबाट कृषि उत्पादनलाई औद्योगिक प्रक्रियासँग जोड्नुका साथै प्रशोधन उद्योग, बजार विस्तार र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

दुई देशबीच चलचित्र, आधुनिक प्रविधि तथा नयाँ सञ्चारमाध्यममा युवा सिर्जनाकर्ताबीच सहकार्य विस्तार गर्ने विषय पनि अघि सारिएको छ । यसले नेपाली र भारतीय युवा सिर्जनाकर्तालाई संयुक्त रूपमा काम गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

खेलकुद क्षेत्रमा पनि भारतले सहयोग विस्तार गर्ने घोषणा गरेको छ । विशेषगरी क्रिकेट पूर्वाधार विकास र नेपाली खेलाडीको प्रशिक्षणमा सहकार्य गर्ने मोदीले बताएका छन् ।

भारतको पछिल्लो घोषणाले नेपाल–भारत सम्बन्धलाई परम्परागत विकास सहायताबाट शिक्षा, प्रविधि, उद्यमशीलता र नवप्रवर्तनतर्फ विस्तार गर्ने संकेत गरेको छ । यद्यपि, आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापनाको स्थान, समयसीमा तथा कार्यान्वयनको विस्तृत खाका सार्वजनिक भएपछि मात्रै यी घोषणाको वास्तविक प्रभाव स्पष्ट हुनेछ ।