काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँदिल्ली गएका हुन् ।
उनलाई बिदाइ गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ जना सहभागी छन् । निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीको टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी हुँदैछ ।
नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीका अनुसार प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले विमानस्थलमा स्वागत गर्नेछन् ।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटवार्ताको कार्यक्रम छ । उनले भारतीय समयअनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । सोही क्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत छ ।












