आज बिहीबार बिहान भारत भ्रमणमा गएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वाग्लेले आजै भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्।

भ्रमण तालिकाअनुसार उनले आज साँझ ५ बजे भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गर्ने भएका हुन्। सीतारमणकै निमन्त्रणामा अर्थमन्त्री ३ दिनका लागि भारत भ्रमणमा गएका हुन्।

ADVERTISEMENT

भारत भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबिचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उनको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

दोस्रो दिन शुक्रबार बिहान अर्थमन्त्री वाग्ले भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

त्यही दिन साँझ ५ बजे अर्थमन्त्री वाग्लेले भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोही साँझ ७ः३० बजे उनी भारत व्यापार सम्वर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा सहभागी हुने अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ।

ADVERTISEMENT

तेस्रो दिन शनिबार बिहान ९ः३० बजे उनी भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

सोही दिन बिहान ११ः३० बजे अर्थमन्त्री वाग्ले दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। अनि शनिबारै अपराह्न ४ बजे उनी स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ।

उनको भ्रमण टोलीमा अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावास उपनियोग प्रमुख डा सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत लगायत सहभागी छन्।