काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउन नहुने धारणा राखेका छन् ।
शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले संविधान र प्रचलित कानुनले तोकेको कार्यकाल तथा समयसीमाअनुसार दुवै तहको निर्वाचन छुट्टाछुट्टै हुनुपर्ने बताएका हुन् ।
प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको कार्यकाल मंसिर ५ गतेसम्म रहेकाले सोही समयसीमालाई आधार मानेर निर्वाचन गर्नुपर्नेमा जोड दिए ।
निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख नेताहरूलाई बोलाएर निर्वाचनको तयारी र समयतालिकाबारे छलफल गरेको जानकारी दिँदै उनले त्यसक्रममा स्थानीय तह र प्रदेशसभाको निर्वाचनको समयबारे फरक–फरक धारणा आएको बताए ।
केही पक्षबाट स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने वा प्रदेशसभाको निर्वाचन पहिले गर्ने विषय उठे पनि संविधान र कानुनको व्यवस्थाअनुसार नै अघि बढ्नुपर्ने उनको भनाइ छ ।
स्थानीय र प्रदेश सरकारलाई संविधान तथा कानुनले दिएको पाँचवर्षे कार्यकाल पूरा गर्न दिनुपर्ने उनले बताए । संविधान र कानुन मिचेर निर्वाचन गर्न खोजिए त्यसले राजनीतिक अस्थिरता र अर्को दुर्घटनाको जोखिम निम्त्याउन सक्ने उनको चेतावनी छ ।
एक ठाउँमा संविधान र कानुन मिच्ने बाटो खोलिए अन्य संवैधानिक व्यवस्थामाथि समेत प्रश्न उठ्ने र प्रतिगामी शक्तिले त्यसलाई अवसरका रूपमा प्रयोग गर्न सक्ने प्रचण्डको भनाइ छ ।
निर्वाचन आयोगमा भएको छलफलमा आफूहरूले संविधान र कानुनले निर्धारण गरेको व्यवस्थाभन्दा बाहिर जान नहुने धारणा राखेको उनले बताए । आयोगले पनि स्थानीय तह र प्रदेशसभाको निर्वाचन दुईपटक नै गर्नु संविधान र कानुनसम्मत हुने विषयमा स्पष्ट धारणा राखेको दाहालले उल्लेख गरे ।
यसैबीच, प्रचण्डले आगामी राजनीतिक प्रतिस्पर्धा भाषण र आमसभामा मात्र सीमित नहुने भन्दै सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई पार्टीले प्राथमिकता दिनुपर्ने बताएका छन् ।
डिजिटल प्रविधि र एआईको प्रयोगमा पछाडि पर्ने राजनीतिक शक्ति निर्वाचनदेखि राष्ट्रिय प्रतिस्पर्धासम्म कमजोर हुन सक्ने उनको तर्क छ । पार्टीले सूचना प्रविधिको प्रयोगलाई संस्थागत र व्यापक बनाउँदै जनतासँगको सम्बन्ध तथा अन्तर्राष्ट्रिय पहललाई समेत विस्तार गर्नुपर्ने उनले बताए ।












