काठमाडौं, फागुण १२। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय सीमा नाका ७२ घण्टा सिल गर्न सरकारसमक्ष सिफारिस गरेको छ। आयोगका सदस्य सगुन शमशेर जबरा को नेतृत्वमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले फागुन २१ गते तय भएको निर्वाचनका लागि नेपाल–भारत र नेपाल–चीन सीमा नाका बन्द गर्न प्रस्ताव गरेको हो।

नेपाल र भारत बीच करिब १ हजार ८ सय ८० किलोमिटर खुला सीमा छ। त्यस्तै चीन सँगको सीमा नियन्त्रित अवधारणाअन्तर्गत सञ्चालन हुँदै आएको छ। आयोगले निर्वाचन अवधिमा अत्यावश्यक वस्तु तथा सेवाबाहेक अन्य आवागमन पूर्ण रूपमा रोक्न र आवश्यक सामग्रीको हकमा कडाइका साथ जाँच गर्ने व्यवस्था मिलाउन सिफारिस गरेको जनाएको छ।

यसैगरी आयोगले मतदानको अघिल्लो दिनदेखि एक सातासम्म देशभर मदिरा बिक्री वितरणमा रोक लगाउन पनि सिफारिस गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार मदिरा सेवनका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने तथा सामाजिक सद्भाव बिथोलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै यस्तो प्रस्ताव गरिएको हो।

निर्वाचन सुरक्षासम्बन्धी समीक्षा बैठक मंगलबार दिउँसो बसेको थियो। बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, नेपाली सेनाका रथी प्रदीपजंग केसी, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउत, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्की लगायत सुरक्षा निकायका अधिकारी सहभागी थिए।

सुरक्षा समितिमा निर्वाचनका दिन सवारीसाधन सञ्चालनमा कडाइ गर्ने, अत्यावश्यक पासवाहकबाहेक आवागमन रोक्ने, मौन अवधिमा हुन सक्ने प्रचारप्रसारको निगरानी गर्ने तथा सामाजिक सञ्जालमार्फत हुने आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल भएको बताइएको छ।

यसअघि नै सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलबीचको डीआईजीस्तरीय बैठकले नेपालको निर्वाचनलाई ध्यानमा राख्दै सीमानाका ७२ घण्टा सिल गर्ने सहमति गरिसकेको जनाइएको छ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले ले निर्वाचन सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको र सोहीअनुसार आवश्यक जनशक्ति परिचालन गरिएको बताएका छन्।