काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
काठमाडौँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको खबरले आफू स्तब्ध र अत्यन्तै मर्माहत भएको थापाले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै शोकको यस घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।
थापाले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
बिहीबार बिहान करिब ६:१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक माइक्रोबस भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानी गढीमा सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ । अन्य मृतकको पहिचान खुलाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।












