काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले १५औँ महाधिवेशनमा खुला उपसभापति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनले सभापति गगनकुमार थापाको विशेष आग्रहलाई सम्मान गर्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

चालिसेले बुधबार उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै पार्टीका लागि काम गर्ने उद्देश्यले आफूले उपसभापतिमा उम्मेदवारी दिएको बताएका छन्। उम्मेदवारी दिने क्रममा देशभरका नेता–कार्यकर्ताबाट प्राप्त माया, विश्वास, समर्थन र हौसलाप्रति उनले आभार व्यक्त गरेका छन्। ‘श्रद्धेय पार्टी सभापति गगन कुमार थापाको विशेष आग्रहलाई सम्मान गर्दै मैले आफ्नो मनोनयन फिर्ता गरेको हुँ,’ चालिसेले भनेका छन्।

ADVERTISEMENT

उनले आफ्नो निर्णय पार्टीको एकता, संस्थागत मर्यादा र सामूहिक हितलाई ध्यानमा राखेर गरिएको स्पष्ट पारेका छन्। यो निर्णय चुनाव वा कुनै व्यक्तिलाई लक्षित गरेर नभएको भन्दै उनले पार्टीका साथीहरूलाई स्वतन्त्र रूपमा निर्णय लिन आग्रह गरेका छन्। ‘पार्टी प्रणालीमा सभापतिको राजनीतिक निर्णयको सम्मान गर्नु मैले आफ्नो कर्तव्य ठानेरै यो निर्णय लिएको हुँ,’ उनले भनेका छन्।

ADVERTISEMENT

चालिसेले पार्टीका जिम्मेवारी प्रतिष्ठाका लागि नभई परिणामका लागि हुनुपर्ने बताएका छन्। आफूहरूले पार्टीका लागि केही गर्न भूमिका खोजेको उल्लेख गर्दै उनले भूमिका व्यक्तिले रोज्नेभन्दा पार्टीले आवश्यकता र प्रणालीअनुसार निर्धारण गर्ने व्यवस्था बलियो हुनुपर्नेमा जोड दिएका छन्।

‘सामूहिक शक्ति र एकताबद्ध प्रयासले मात्र हामीले हाम्रो पार्टीलाई सुदृढ बनाउन सक्छौँ,’ चालिसेले भनेका छन्। चालिसेसँगै यसअघि उपसभापति पदका अर्का उम्मेदवार मिनन्द्र रिजालले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

ADVERTISEMENT