काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छिटो सार्वजनिक गरेकामा सरकारलाई धन्यवाद दिएका छन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सरकारलाई धन्यवाद दिएका हुन् ।
‘यस वर्ष एसईईको नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गर्न सफल भएकोमा नेपाल सरकार, सम्बन्धित निकाय र संलग्न सबैप्रति धन्यवाद तथा बधाई व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।
थापाले विद्यार्थीको मेहनत र लगनशीलताले आज सार्थक रूप पाएको बताएका छन् । ‘हिजो सार्वजनिक भएको एसईई परीक्षामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तपाईँहरूको मेहनत र लगनशीलताले आज सार्थक रूप पाएको छ,’ उनले खेलेका छन् ।
सभापति थापाले अपेक्षित ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीलाई यो नतिजालाई केवल एउटा खुड्किलोको रूपमा लिन र कत्ति पनि विचलित नहुन पनि आग्रह गरेका छन् ।
‘अपेक्षित ग्रेड प्राप्त गर्न नसक्नुभएका भाइबहिनीहरूलाई यो नतिजालाई केवल एउटा खुड्किलोको रूपमा लिन र कत्ति पनि विचलित नहुन आग्रह गर्दछु। आगामी ग्रेड वृद्धि परीक्षा आफ्नो क्षमता प्रमाणित गर्ने अर्को सुन्दर अवसर हो । विद्यार्थीको मनोबल उच्च राख्न र आवश्यक शैक्षिक परामर्श दिन म स्थानीय सरकारहरूलाई तत्काल समन्वयका लागि अनुरोध गर्दछु,’ उनले खेलेका छन् ।
यस वर्षको एसइइ परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक भएको हो । गत १९ देखि २९ चैतसम्म परीक्षा सञ्चालन भएको थियो । परीक्षा सकिने बेलासम्म कापीसमेत परीक्षण भइसकेको थियो । प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षामन्त्री सस्मित पोखरेलले एक महिनामै नतिजा सार्वजनिक गर्न समय दिएका थिए ।








