काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को बैठक तत्काल बोलाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आग्रह गरेका छन्। सोमबार सभामुख अर्यालसँग भेट गरी आङ्देम्बेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसद् बैठक आवश्यक रहेको बताएका हुन्। अध्यादेशमार्फत विषयहरू अघि बढाउनु लोकतन्त्रको मर्मअनुकूल नहुने उल्लेख गर्दै उनले संसद्मा छलफल गरेर निर्णय गर्नुपर्नेमा जोड दिएका छन्। भोटेकोशी बाढीबाट प्रभावित नागरिकका समस्या र उनीहरूको अवस्थाबारे पनि संसद्मा छलफल गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्।
यसैबीच, सभामुख अर्यालसँग आजै नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्याल र गुरु बरालले पनि भेट गरेका छन्। सभामुखको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो।










