काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत भएका छन् । सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सभापति गगन थापाले आङ्देम्बेको नाम प्रस्ताव गरेका हुन् ।

आङ्देम्बेको नाम संसदीय दलको बैठकमा पेस हुने भएको छ । पूर्वसहमहामन्त्रीसमेत रहेका आङ्देम्बे समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुन् । उनी कांग्रेस दलको नेता चुनिएमा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता बन्ने छन् । साथै, विपक्षी दलको नेताको हैसियतमा उनी संवैधानिक परिषद्को पदेन सदस्य बन्नेछन् ।

ADVERTISEMENT

लामो समयदेखि राजनीतिमा सक्रिय आङ्देम्बे संसदीय राजनीतिको अनुभवी नेताका रूपमा चिनिन्छन्। २०७० सालको संविधानसभा सदस्य रहिसकेका आङ्देम्बे यसपटक प्रतिनिधिसभामा पुगेका पूर्वपदाधिकारीमध्ये एक्ला नेता हुन्।

ADVERTISEMENT

आङ्देम्बेले उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिको सभापतिका रूपमा समेत काम गरिसकेका छन्। साढे चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय उनी तरुण दलबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् ।

कांग्रेसले संसदीय दलको प्रमुख सचेतक बासना थापा र सचेतक निश्कल राईलाई बनाउने तयारी गरेको छ । थापा दैलेखबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् भने राई इलाम १ बाट निर्वाचित सांसद हुन् ।

ADVERTISEMENT

लामो रस्साकस्सीपछि कांग्रेसले भीष्मराजलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो । सोमबार बसेको संसदीय दलको बैठकले नेता र सचेतकको निर्णय अनुमोदन गरिने भएको छ ।