काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको स्वास्थ्य अवस्थाबारे प्रश्न उठाउँदै तत्काल स्वास्थ्य परीक्षण गरी सदनलाई जानकारी गराउन माग गरेको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा पेस भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर बाहिरिनुका कारण र निजी सचिवालयबाट आएका स्वास्थ्यको विषयमा उनले प्रश्न गरे ।

ADVERTISEMENT

‘आफ्नै सरकारको नीति कार्यक्रम पेस भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँड्नु स्वाभाविक होइन। यदि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेको कारण उहाँ हिँड्नुभएको हो भने, सरकारले अविलम्ब स्वास्थ्य परीक्षण गरेर उहाँको स्वास्थयबारे त्यसको जानकारी संसदलाई गराउनुपर्छ,’ उनले भने ।

आङ्देम्बेले प्रधानमन्त्रीको यो व्यवहारलाई अमर्यादित र अहंकारपूर्ण भन्दै यसले सदनको गरिमा र इज्जतमा दाग लागेको टिप्पणी गरे। कुनै पनि देशको प्रधानमन्त्रीले यस्तो गैर(जिम्मेवार व्यवहार नदेखाउने भन्दै आङ्देम्बेले यस विषयमा सरकारको आधिकारिक धारणा माग गरे ।

ADVERTISEMENT

विपक्षी दलका नेता आङ्देम्बेले सभामुख डिपी अर्यालको भूमिकाबारे पनि प्रश्न उठाए । उनले सभामुखले उचित भूमिका खेल्न नसकेको, संसद्लाई मर्यादित बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । आङ्देम्बेले प्रधानमन्त्री रास्वपाको मात्रै नेता नभएर सम्पूर्ण देशकै भएको पनि बताए ।