काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि उठेका आरोपको निष्पक्ष र निर्मम छानबिन गर्न माग गर्दै दोष प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफूमाथिको आरोपमा पार्टी, सरकार वा राज्यका कुनै पनि निकायले संरक्षण दिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।

ADVERTISEMENT

सांसद सुनारले पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक तथा मतदाताले यस विषयमा शिर झुकाउनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत सकिने बताएका छन्।

ADVERTISEMENT

‘म र मैले गरेको कुनै पनि कुकर्मको पार्टी र सरकार सती जान पर्दैन,’ उनले भनेका छन्, ‘म पार्टी, सरकार र राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु।’

आफूमाथि लगाइएका आरोपको सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिँदै उनले आफूले गरेको भनिएको गल्ती वा अपराध के हो भन्ने कुरा प्रमाणका आधारमा स्थापित हुनुपर्ने उनले बताएका छन्। आरोप प्रमाणित भए आफू सजाय भोग्न तयार रहेको उनको भनाइ छ।

ADVERTISEMENT

उनले आफूले कुनै विषयमा प्रश्न उठाएकै कारण आफूमाथि प्रश्न गर्न नपाइने भन्ने नहुने स्पष्ट पार्दै सार्वजनिक भएका समाचार र आरोपको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्।

एक महिलासँगकाे अडियाे प्रकरणपछि उनी आलाेचित बनेका छन्।

यस्ताे छ स्ट्याटस

प्रश्न म माथि उठेको प्रश्न हो । यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन । म माथि निर्मम छानविन गरियोस् । आवश्यक परे प्रतिनिधि सभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस् । म र मैले गरेको कुनै पनि कु-कर्मको पार्टी, सरकार सती जान पर्दैन। म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु । मैले गरिएको भनिएको पाप, अपराध के हो ? प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार छु । तर राजनीतिक, सामाजिक रुपमा काम गरिरहेकी एक निर्दोष महिला माथि जुन ढङ्गबाट मिडिया ट्राईल, अतिरञ्जित प्रचार, अनावश्यक फोटो, अडियो, भिडियाे जोडी टिका टिप्पणी गरिएको छ, यो कदापि स्वीकार्य छैन । आरोपमा भनिएको छ मैले दुःख दिए । हिजो एक जना व्यक्तिले जिन्दगीको कुनै बिन्दुमा दुःख दिएको थियो रे भन्ने काल्पनिक बुझाईमा एक महिलालाई यसरी लखेट्नु कति सान्दर्भिक हो ? म बाट कुनै बदमासी भएको भए उहाँलाई गोप्य राखी म माथि प्रहरी, अदालत, कसैले अनुसन्धान गरेर सजाय दिँदा हुने विषयलाई राज्यको जिम्मेवार निकायबाट यसरी किन लखेटियो ? समाचार प्रकाशित गर्ने मिडियालाई सम्बन्धित मान्छेले यस्ता गलत समाचार नलेख्नु, यो गलत हो भन्दाभन्दै किन लखेटियो ? प्रहरीको हेडक्वाटर, CIB ले बार-बार भेट्न बोलाएको, मुद्दा हाल्न भनेको तर अन्याय भएको भए म आफै मुद्दा हाल्थे, म आफ्नो जिन्दगीबारे सचेत छु भन्ने उहाँको जवाफ पछि अब तिमीहरू दुवै जनालाई एकै झट्कामा सक्काउँछौं भन्ने धम्की दिएर फोन काटेको केही दिनमा यो सबै घटना क्रम भएको हो । खैर केही छैन । मैले कुनै विषयमा प्रश्न गरे, मुद्दा उठाए भन्दैमा म माथि प्रश्न गर्नै नपाइने भन्ने होईन । प्रश्नः उठेको छ । समाचार आएको छ । त्यसैले एक जिम्मेवार नागरिकको हैसियतले म माथिका प्रत्यक आरोपको सत्य-तथ्य छानबिन होस् । तर, उहाँ महिला माथि प्रहरी, राज्य, समाज, मिडियाले गरेको दुर्व्यवहार आपत्ति जनक छ । जे कारबाही हो म माथि होस् – मलाई स्वीकार छ । उहाँ माथिको आक्रमण मान्य छैन । त्यो गलत छ ।

k