काठमाडौं । यतिबेला मुलुकमा रास्वपाका शक्तिशाली सरकार छ । र, सरकारको नेतृत्व गरिरहेका छन् रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह बालेनले । अहिले गृहमन्त्री पनि बालेन नै छन् । तर बालेन प्रधानमन्त्री र गृहमन्त्री हुँदा रास्वपाका सांसदहरू प्रहरी कार्यालय अगाडि धर्नामा बस्नुपर्ने अवस्था आएको छ ।

खगेन्द्र सुनार, रिमा विश्वकर्मासहित रास्वपाका सांसदहरूले १२ घन्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्ना दिएका छन्। सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमै मृत्यु भएको घटनामा न्याय माग गर्दै उनीहरू बिहीबार साँझदेखि धर्नामा बसेका हुन्।

ADVERTISEMENT

धर्नामा खगेन्द्र, रिमाबाहेक सुस्मा स्वर्णकार, खिमा विश्वकर्मा, आशीष गजुरेलका साथै सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका स्थानीय छन्। ‘१२ घण्टादेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा छौं,’ खगेन्द्र सुनारले आफ्नो फेसबुकमा लेखेका छन्।

ADVERTISEMENT

घटनाको छानबिनका लागि प्रहरीको आन्तरिक उच्चस्तरीय (विज्ञ) छानबिन र संसदीय छानबिन समिति गठन गर्नुपर्ने तथा प्रमुख जिल्ला अधिकारी, एसपी, खुर्कोट इलाका प्रहरीका इन्स्पेक्टरलाई तत्काल निलम्बन गर्नुपर्ने उनीहरूको माग छ । घटनाको छानबिनका लागि मंगलबार नै सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलको नेतृत्वमा सात सदस्यीय छानबिन समिति बनेको छ ।

हिरासतमै मृत्यु भएका २२ वर्षीय श्रीकृष्णलाई प्रहरीले यातना दिएर मारेको आफन्तहरूको आरोप छ। श्रीकृष्णले खोटाङकी १७ वर्षीय किशोरीसँग चैत २८ गते अन्तरजातीय प्रेम विवाह गरेका थिए।

ADVERTISEMENT

ललितपुरमा भाइसँग बस्दै आएका उनी विवाह गरेपछि सिन्धुली फर्केका थिए। ललितपुरको सातदोबाटो प्रहरी वृत्तले किशोरीको परिवारले कुरा गर्न खोजेको भनेर वैशाख ३ गते बोलाएपछि उनीहरू फेरि ललितपुर फर्केका थिए। त्यसपछि सातदोबाटो प्रहरी वृत्तमा किशोरीका परिवारसँग छलफल गर्न पुगेका श्रीकृष्णलाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएर भोलिपल्ट सिन्धुली पठाएको थियो।

ललितपुर प्रहरीले उनै किशोरीले बलात्कारको जाहेरी दिएपछि घटनास्थल सिन्धुली भएका कारण थप अनुसन्धानका लागि उतै पठाइएको बताएको थियो। श्रीकृष्ण वैशाख ७ गते हिरासतमा मृत फेला परेका थिए।